सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालत दिपायल प्रविधिमैत्री बन्दै

२०८० साउन १, १०:४५

किरण धामी,डोटीः उच्च अदालत दिपायल प्रविधिमैत्री बन्दै गएको छ।

विश्व प्रविधिमय बन्दै गएको बेला अदालतले आफ्नो कामकारबाहीलाई प्रविधिसँग जोड्दै लगेको छ। सोमवार अदालतको वार्षिक समीक्षा कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले  श्रव्यदृष्य मार्फत मुद्दाको सुनुवाइ गर्ने कार्य प्रभावकारी बनिरहेको बताए। श्रव्यदृष्य मार्फत मुद्दाको सुनुवाइ गर्दा अदालतले राखेको लक्ष्य भेटाउन सजिलो भएको न्यायाधीश निरौलाको भनाई छ।

देश भरीमा श्रव्यदृष्य मार्फत मुद्दाको सुनुवाइ गर्ने कार्यको सुरुवात सबै भन्दा पहिला सुदूरपश्चिम प्रदेशबाट भएको बताउँदै न्यायाधीश निरौलाले यस कार्यबाट समयको बचत र न्यायालय कम खर्चिलो भएको बताए। उच्च अदालत दिपायलमा श्रव्यदृष्य संवाद मार्फत मुद्दाको सुनुवाइ कार्यको सुरुवात २०७८ चैत ५ गतेबाट सुरु भएको थियो। यस्तो  भर्चुअल हेयरिङ्ग उपकरण उच्च अदालत दिपायलका मातहतका सबै अदालतहरूमा जडान गरिएको छ। भर्चुअल हेयरिङ्ग सुरु भए देखी हाल सम्म भिडियो कन्फरेन्स मार्फत बहसका लागि एक हजार ७० थान मुद्दामा निवेदन परेको वार्षिक समीक्षा कार्यक्रममा बताइएको छ। त्यसमध्ये चार सय ९२ मुद्दामा बहस हुँदा ४९ जना कानुन व्यवसायीहरूले श्रव्यदृष्य संवाद मार्फत बहस पैरवी गरेका छन्।

साथै भिडियो कन्फरेन्स मार्फत ४२ विशेषज्ञ लगायतको बकपत्र भएको छ। यो प्रविधिबाट लामो दुरी यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने मुद्दाका पक्षहरूको समेत समय र स्रोतको बचत भएको छ। साथै उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। अदालतले एक हजार ३ सय २४ मुद्दा दर्ता हुने अनुमान गरी त्यस मध्येका नौ सय तीन मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा एक हजार दुई सय ५६ मुद्दा दर्ता हुँदा नौ सय २० मुद्दा फर्छ्यौट गरेको छ। अनुमान गरिएको मुद्दाको ६८ प्रतिशत मुद्दा फर्छ्यौट  गर्ने लक्ष्य राखिएकोमा दर्ता भएका जम्मा मुद्दाको ७३ दशमलव २४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्।

गत आर्थिक वर्षसम्म दर्ता भएका जम्मा मुद्दामा फर्छ्यौट हुन बाँकी तीन सय २६ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका छन्। गत आर्थिक वर्ष यसरी जिम्मेवारी सरी आउने मुद्दाको सङ्ख्या चार सय ८१ रहेका थिए।

कमेन्ट लोड गर्नुस