बिर्सदै लुतो फाल्ने चलन, यसरी भयो बोलबम तथा मेहन्दीको प्रवेश

सुनिल उलकः साउन संक्रान्तिको बिहानैदेखि गाँउघरका केटाकेटीहरु भलायोको पात (कागभलायो), कुकुरडाइनु, लुतेझार, पानीसरो, देवीसरो, रातपाते, तिउरी, सिस्नो, सिउँडी, पानीअमला आदी खोज्न वन दौडन्थे।
साँझ भएपछि भण्डारक राक्षसलाई भगाउन बलिरहेको अगुल्टो चारैतिर फेक्ने गरिन्थ्यो। भण्डारक राक्षसले केटाकेटीलाई दुख दिने भएको हुँदा भण्डारकलाई लुतो लैजा लुतो लैजा भन्दै भाका लगाउने गरिन्छ। लुतो फ्याक्दा नाङ्लो ठटाउने, शंख फुक्ने तथा घण्ट बजाउने पनि गरिन्छ।
वास्तवमा लुतो फाल्ने चलनको सुरुवात हुनुको कारण भने असारे रोपाइमा खेतमा लडिबुडी खेलेपछि छालामा लाग्ने रोग निर्मुल पार्न जडिबुटीयुक्त घाँस जलाएर त्यसको राप ताप्नु हो। जसले गर्दा छालामा लागेका लुतो तथा घाउखटिरा निको हुने विश्वास गरिन्थ्यो। तर, अचेल समय बदलिसकेको छ।
छाला चिलाए वा घाउखटिरा आएमा डाक्टरले विभिन्न मलम दिइहाल्छन्। तसर्थ लुतो फाल्ने दिनको महत्व घट्दै गएको छ। प्रश्न उब्जेको छ, हामी किन मेहन्दी र हरियो चुराको भारतीय संस्कारलाई पछ्याउदैछौँ। हाम्रो तिउरी कहाँ गयो ? लुतो फाल्ने चलन कसरी हरायो ?
कसले ल्यायो बोलबम ?
२०५० सालमा पहिलो पटक मधेशीमुलका चार युवा सुन्दरीजलबाट शुद्ध जल लिन काँवरियाको रुपमा पुगेका थिए तर लखेटिए । २०५१ मा अन्य केही युवाको साथ फेरि गए। यसपटक सफल भए । यो नै नेपालमा पहिलो पटक बोलबमको सुरुवात भएको साल हो।
यसको लगत्तै माओवादीको उत्कर्षताले केही वर्ष बोलबम रोकियो । २०५५–०५६ पछि विस्तारै यसले ब्यापकता पायो। युवायुवतीको जमात बोलबमको नारा लगाउँदै साउन महिनाको हरेक सोमवार शिवको मन्दिर तर्फ पुग्ने गर्दछन्।
नेपालीहरुको जमात केही शान्त देखिए पनि मधेशीमूलको जमातको चर्को संगीत कुनै भजन होइन, बिहारको गाउँमा लाग्ने मुजराका चर्का संगीत जस्तो लाग्छ। साथमा रक्सीको मातले मदहोश नाच नाचिरहेका हुन्छन्। यो कता कता धार्मिक उत्सव भन्दा कुनै गाउँमा आर्केष्ट्रा लागिरहेको जस्तो लाग्छ।
अचेल नेपाल भित्रका कतिपय शिव मन्दिर समितिहरुको ब्यापार गर्ने थलो झै भएको छ यो बोलबम यात्रा। खैर, धर्म प्रति सबैको बराबर हक छ। धर्मको अभ्यास गर्न पाउने अधिकार पनि छ। तर, बोलबमका नाममा चर्का संगीत बजाएर बजारमा अरुको अधिकारहरु हनन् गर्नु पनि सायद धर्म होइन होला। तर, उहिले काँवरियाका रुपमा बाबाधाममा जानेहरु शान्त रुपले जाने गर्दथे।
खै तिउरी ? यहाँ त केवल मेहन्दी मात्रै देखिन्छ।
साउन सक्रान्तीको केही दिन अगाडिदेखि केटाकेटी तथा महिलाहरु बजारमा मेहन्दी बेचिरहेको देखिन थाल्छन्। सक्रानन्तिको अघिल्लो दिन मधेशमूलका महिला तथा पुरुषहरु मेहन्दी लगाइदिन लामबद्ध बसिरहेका हुन्छन्।साथै हरियो चुराहरुको पनि बजार लागेको हुन्छ।
नेपालमा साउन महिनाका लागि मात्रै चुरा पोते मेहन्दीको आयात वार्षिक २ अर्बभन्दा बढिको हुने गर्दछ। हामीले बाल्यकालमा बटुल्ने तिउरी अचेलका युवायुवतीहरुले नामै नसुनेको झै भयो। तिउरी पिसेर हातमा लगाइन्थ्यो।
तर अचेल ५०० रुपैया तिरेर मेहन्दी लगाउछन्।त्यो बाल्यकालको तिउरीको लेप नै मेहन्दी हुन्थ्यो। तिउरीको पातमा मकरकाँची बारीको गाभा र पाए परेवाको विष्टा पनि मिसाएर पिसिन्थ्यो र हातभरी दलिन्थ्यो। अहिले झै चित्रकारिता चाहिँदैनथ्यो।
साउनमा व्रत किन?
गत मंगलवार असार १९ गतेबाट चन्द्रमासका अनुसार साउन महिना सुरु भएको थियो। जस अनुसार साउन २५ गते चन्द्रमास अनुसारको पहिलो सोमवार परेको थियो। कतिपयले साउन २५ गतेबाट नै साउनको सोमवारे व्रत बसेका थिए। सूर्यमासअनुसार साउन १ गते पहिलो सोमवार परेको छ।
यस वर्ष साउन महिनामा अधिक मास परेको हुँदा यस वर्ष चन्द्रमासका अनुसार आठवटा सोमवार परेको छ। साथै साउन १ गते सोमवारे औंसी पनि परेको छ। जसले गर्दा साउन १ गतेको सोमवारे औंसीको व्रत अझ विशेष मानिने गर्दछ।
आठ सोमवार परेको भए तापनि हिन्दू शास्त्रअनुसार मलमासको समय शुभ कार्य गर्न वर्जित गरिएको हुँदा मलमासमा रहेको सोमवार व्रत वा शिवजीलाई जलअर्पण गरेर कुनै धर्म हुँदैन भन्ने मान्यताले असार २५, साउन १, भदौ ४ र भदौ ११ गतेको सोमवार मात्र उपयुक्त हुन्छ।
तर, हामी कहाँ सूर्य मासको प्रयोग अत्यधिक हुने हुँदा यहाँ कतिपयका लागि साउन महिना भरका सोमवार नै व्रत बस्ने प्रचलन छ। शास्त्रअनुसार हेर्ने हो भने साउन १ गते बाहेकका सूर्यमासका सोमवारमा व्रत बसेर कुनै फल प्राप्त हुदैन।
साउन महिनालाई किन यति महत्व?
साउन महिनाको महत्व हिन्दू आख्यानहरुका अनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष निस्कियो। र, त्यो कालकूट विष शिवजीले सेवन गरेर देवता र राक्षस गणको रक्षा गरेका थिए। तर, कालकूट विष सेवन गर्दा शिवजीको गलामा पुगेपछि पार्वतीले सो विष घाँटी भन्दा तल जानबाट रोकेका थिए।
जसले गर्दा घाँटी निलो हुन थाल्यो, बिषको असरले शिवजीलाई जलन हुन थाल्यो। मृत्युबाट त जोगाए पार्वतीले तर शिवजीलाई जलन असह्य हुँदै गयो। यो देखेर पार्वतीले शिवजीलाई जलसेचन गरेर जलन शान्त गराएका थिए। पार्वतीले जल चढाए पछि अन्य देवतागणले पनि शिवजीलाई जल चढाएर विषको असरले भएको जलन शान्त गराए। यसरी शिवजीलाई साउन महिनामा जल अभिषेक गर्ने परम्पराको सुरुवात भएको भन्ने मान्यता छ।
शिवजीले कालकूट विष पिएर अरुको त जीवन बचाए तर आफ्नो शरिरमा असह्य जलन हुँदै गयो। मृत्यु र जीवनको दोसाँधमा रहेका शिवजीका जीवन रक्षाका लागि पार्वतीले यहीँ साउन महिनाको पहिलोबाट सोमवारे व्रत बसे । यसरी कालकूट विषका असरबाट शिवजीको जीवन रक्षाका लागि पार्वतीले व्रतारम्भ गरेको साउको सोमवारे व्रत विस्तारै सबैले बस्न थालेको भन्ने मान्यता रहेको छ।
पार्वतीले शिवजीको प्राण रक्षाका लागि व्रत बस्दा कुनै बिशेष पहिरन वा हात भरी चुरा लगाएको भन्ने भेटिदैन। तर, धेरैपछि महिलाहरू साउन महिना हरियालीको महिना भएको हुँदा हरियो कपडा र हरियो सारीलाई महत्व दिन थालेको देखिन्छ।
.gif)

