सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रेबिजको प्रकोप फैलियो, कहिले आउँछ खोप?

२०८० असार ३१, ०७:५२ नारायण अवस्थी

धनगढीः  कैलालीको गोदावरी नगरपालिका अत्तरियाका ८  वर्षीय बालकलाई असार २४ गते धनगढी सहिद गेट नजिक कुकुरले टोक्यो।

त्यहीँ कुकुरले लगत्तै अर्का बालकलाई पनि टोकेको बालकका आफन्तले बताएका छन्। छाडा कुकुरले टोक्दा रेबिज हुन सक्ने खतराका कारण बालकका आमाबुबाले रेबिज विरुद्धको खोप लगाउन खोजे तर पाएनन्। धनगढीको सेती प्रादेशिक अस्पतालसहित निजी अस्पतालमा धाउदा समेत खोप नपाएको आफन्तको गुनासो छ। सुदूरपश्चिममा रेबिज विरुद्धको खोप अर्थात् एन्टी रेबिज भ्याक्सिनको अभाव रहेको अधिकारीहरूले बताएका छन्।

सुदूरपश्चिममा एक वर्षदेखि पशुचौपाया, कुकुर स्यालहरूमा रेबिज संक्रमणको प्रकोप देखा परेको छ। कैलाली र कञ्चनपुरमा मात्रै ६ महिनाको अन्तरालमा ३९ पशुचौपाया रेबिज संक्रमणले मरेका छन्। गत बैशाख दोस्रो हप्ता रेबिज संक्रमित कुकुरले टोक्दा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का कक्षा १० मा अध्ययनरत एक किशोरको ज्यान गएको थियो। कैलाली र कञ्चनपुरमा दैनिक रेबिज संक्रमित कुकुर र स्यालले जनावरलाई टोक्ने घटना भइरहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।

“सुदूरपश्चिममा दैनिक रेबिज संक्रमित कुकुर र स्यालले पशुचौपायालाई टोकेको घटना सार्वजनिक भइरहेका छन्,“ उनले भने, “कुकुर र स्यालले टोकेका जनावरको सम्पर्कमा आएकाहरूले रेबिज विरुद्धको खोप लगाउन चाहेका हुन्छन्। तर, मानिसलाई लगाउने खोप पाउन समस्या छ भने पशुलाई लगाउने खोप भने पर्याप्त छ।“ सुदूरपश्चिमका कुनै पनि अस्पतालहरूमा एन्टी रेबिज भ्याक्सिनको मौज्दात नरहेको अस्पतालहरुले बताएका छन्। सेती, महाकाली, टीकापुर र जिल्ला अस्पतालहरूमा एन्टी रेबिज भ्याक्सिनको मौज्दात सकिएको छ।

रेबिज विरुद्धको खोप संघीय सरकारले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाउने गर्छ। तर, यो वर्ष आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा पनि खोपको मौज्दात सकिएको छ। प्रदेशका अस्पतालहरूबाट खोपको माग भइरहे पनि दिन सकिएको छैन। संघीय सरकारबाट खोप खरिद गर्ने काम भइरहेकाले साउन १० गतेभित्र मात्र खोप आइपुग्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त निर्देशक डाक्टर निरज अर्यालले बताए। “रेबिज विरुद्धको खोप संघीय सरकारले हामीलाई पनि पठाउने हो। हामीले पत्राचार गर्दा साउन १० गतेसम्म आइपुग्ने बताइएको छ,“ उनले भने, “हामीसँग १२० भाइल मात्रै स्टक रहेको छ। चिकित्सकले खोप अनिवार्य हो भने मात्रै दिने व्यवस्था मिलाइएको छ।“

कुकुर, बिरालो, स्याल र बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाइन्छ। चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ। तर स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई खोप उपलब्ध नगराएको महिनौं भइसकेको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस