सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सर्पको बिगबिगी, दुई सय १६ जना पीडित

२०८० असार ३१, ०६:३५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा सर्पदंशबाट आर्थिक वर्ष २०७९/८० को असार तेस्रोत सातासम्म दुई सय १६ जना पीडित भएको पाइएको छ। सबैभन्दा बढी कञ्चनपुरमा ९४ र कैलालीमा ४९ जनालाई सर्पले टोकेर अस्पताल भर्ना भएको तथ्यांक छ। बाँकी ७ पहाडी जिल्लामा सर्पले टोकेर ७३ जना पीडित बनेका छन्।

विषालु सर्पको बिगबिगी हुने मौसम चलिरहेको भए पनि यस वर्ष अहिलेसम्म कञ्चनपुर र कैलालीमा सर्पदंशबाट मृत्यु हुनेको संख्या भने शून्य छ। कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल, बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र, बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र र दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ती स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका पीडितमध्ये कसैको पनि ज्यान गएको छैन।

महाकाली अस्पतालका अनुसार यस वर्ष अस्पतालमा विषालु सर्पले टोकेका ३४ बिरामी भर्ना भएका थिए। विषरहित सर्पले टोेकेका विरामीलाई निगरानीमा राखेर घर पठाउने गरिएकोले अभिलेख नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए। उनका अनुसार आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएकाले कुनै पनि विरामीको ज्यान गएको छैन।

त्यस्तै सेती प्रादेशिक अस्पतालमा यस वर्ष कूल ४९ सर्पदंशका विरामी भर्ना हुन आएका थिए। अस्पताल प्रशासनले तीमध्ये १२ जनालाई मात्रै विषालु सर्पले टोकेको बताएको छ। अस्पतालमा अहिलेसम्म सर्पदंशबाट कसैको पनि मृत्यु भएको छैन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीका अन्य प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि सर्पदंशका विरामीको मृत्यु भएको जानकारी प्राप्त भएको छैन।

निर्देशनालयका अनुसार पहाडी जिल्लामा सर्पदंशबाट भएको मृत्युको सूचना प्राप्त भएको छैन। निर्देशनालयका अनुसार पहाडी जिल्लामध्ये सर्पदंशका सबैभन्दा बढी घटना बझाङमा भएका छन्। बझाङमा भएका कूल २४ घटनामध्ये १० वटा विषालु सर्पका थिए। अछामका कूल ६ घटनामध्ये तीनमा विषालु सर्प, डोटीका १४ मध्ये एउटामा विषालु सर्प, डडेल्धुराका ११ मध्ये तीनमा विषालु सर्प, बैतडीका पाँचमध्ये शून्यमा विषालु सर्प, दार्चुलाका आठ घटनामध्ये तीनमा विषालु सर्प र बाजुराका पाँचमध्ये शून्यमा विषालु सर्पले टोकेका घटना रहेको निर्देशनालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस