सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘लम्पी स्किन’ रोगको प्रकोप भयावह, करिब २६ हजार पशु मरे

२०८० असार ३०, ०६:३६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ। प्रदेशभित्र २५ हजार ९९१ पशुचौपाया संक्रमणका कारण मरेका छन्। सुदूरपश्चिममा तीन वर्षदेखि फाट्टफुट्ट देखा पर्दै आएको लम्पी स्किन रोगले यो वर्ष भने महामारीको रूप लिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।

‘सुदूरपश्चिममा तीन वर्षदेखि लम्पी स्किन रोगका कारण पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ उनले भने, ‘यो वर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखिएको छ।’ पोक्स भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५ सय पशुचौपाया संक्रमित भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीले जनाएको छ। कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार ३९३ गाई, २१ हजार ३५१ गोरू र एक लाख १३ हजार ३२७ भैंसी संक्रमित हुँदा ६५७ पशुचौपाया मरेको तथ्याङ्क छ।

त्यस्तै बझाङमा एक लाख ६१ हजार ७९५ पशुचौपायामा लम्पी स्किन पुष्टि भएको छ। जिल्लाभित्र १२ हजार ३४१ बाच्छाबाच्छी, ५० हजार २१४ गाई, ४८ हजार ५२१ गोरू र ५० हजार ७१९ भैंसीमा लम्पी स्किन संक्रमण भएको हो। बझाङमा ४ हजार ६२३ पशुचौपाया मरेका छन्। लम्पी स्किनका कारण बैतडीमा सबैभन्दा बढी पशुचौपाया मरेका छन्। ७० हजार ९४० चौपाया संक्रमित हुँदा ६ हजार गाई, ३ हजार बाच्छाबाच्छी, २ हजार गोरू र १८ वटा भैंसी मरेका छन्।

लम्पी स्किनको उपचार थाहा नभएर पनि चौपाया मरेको डाक्टर अवस्थीले बताए। ‘चौपायालाई लम्पी स्किन हुँदा ज्वरो आउँछ। यसरी ज्वरो आउँदा सिटामोल खुवानुपर्थ्यो,’ उनले भने, ‘सही उपचार र संक्रमण फैलिनु अगावै खोप दिन नसक्दा पहाडी जिल्लामा धेरै पशु मरेका छन्।’ बाजुरामा ४३ हजार ३९ पशुचौपायामा संक्रमण हुँदा ७५३ पशुचौपाया मरेका छन्। यस्तै, डोटीमा ३८ हजार ६७३ पशुमा लम्पि स्किन पुष्टि हुँदा ३ हजार ६७९ चौपाया मरेका छन्।

डडेल्धुरामा ३३ हजार २४३ पशुमा लम्पी स्किन हुँदा २ हजार ३९६ मरेका छन्। यसैगरी, अछाममा ३२ हजार ५७७ चौपाया संक्रमित हुँदा एक हजार ६७८ मरेका छन्। हिमाली जिल्ला दार्चुलामा २९ हजार ३३० पशु संक्रमित भएकामा एक हजार १६९ पशु मरेका छन्। कञ्चनपुरमा ७०२ पशुमा लम्पी स्किन भएकोमा १८ चौपाया मरेका छन्। पशुचौपायामा लम्पी स्किन संक्रमणको अवधि ४ देखि १४ दिनसम्मको हुने पशुचिकित्सक डाक्टर अवस्थीले बताए। उनले खोप लगाएर संक्रमण हुनबाट रोक्न सकिने बताए।

लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिन्छन्। खोपबाट संक्रमण रोक्न सकिने भए पनि सुदूरपश्चिममा पर्याप्त खोप नभएको अधिकारीहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस