सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सांसद विकास कोषमा रकम थप्ने तयारी

२०८० असार ३०, ०३:५५ खबर संवाददाता

धनगढीः आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेट पारित गर्ने वा नगर्ने समय सीमा घर्किनै लाग्दा सुदूरपश्चिममा प्रदेश सरकार र प्रदेशसभाका सांसदबीच बैठक बाक्लिएको छ। आज बसेको प्रदेश सरकार र सत्ता गठबन्धनका नेताहरू बिचको छलफल सकारात्मक देखिएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा सांसदका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले कमलबहादुर शाहले बताएपछि नेताहरु बिचको छलफल सकारात्मक हुँदै गएको हो।

शनिबार नै संसद् बैठकमा सांसदहरूको माग सम्बोधन हुने गरी सम्बोधन हुने तयारी भइरहेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए। सरकारसँग सत्ता गठबन्धनका दलहरू बिचको वार्तामा पूर्वाधार विकास कार्यक्रममा थप २ करोड दिन सरकार तयार भइसकेको छ।दोहोरिएका योजना हटाउने र बजेटमा सन्तुलन नभएका विषयहरूलाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा माओवादी संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल प्रमुख सचेतक मानबहादुर धामी लगायतका सांसद थिए। नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी खुसीराम चौधरी लगायतका सांसद थिए। नेकपा एकीकृत समाजवादीका तर्फबाट दलका नेता दीर्घबहादुर सोडारी, उपनेता प्रकाश रावल थिए। वार्तामा मुख्यमन्त्री सहित सरकारका सबै मन्त्री उपस्थित थिए। सत्ता गठबन्धनको बैठकपछि अहिले सत्ता गठबन्धनका दलहरू एकल बैठकमा जुटेका छन्।

सरकारको तर्फबाट आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले आजको संसद बैठकमा सांसदहरूको माग सम्बोधन गर्ने गरी उठेका प्रश्नहरू माथि जवाफ दिने छन्। अहिलेसम्म बजेटको विरोधमा रहेका दलहरू त्यसपछि फेरी छलफलमा जुट्न सक्ने बताइएको छ। यसअघि माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले अहिलेकै अवस्थामा बजेटको समर्थन गर्न नसकिने निर्णय गरेका थिए। तीनै दल सत्ता गठबन्धनका घटक हुन्। सत्ता गठबन्धनकै सांसदको बिरोधका कारण बजेट अहिलेसम्म पारित हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस