८ बजे बोलाइएको बैठक स्थगित, ३ बजे बजेट पारित गराउने यस्तो छ अंक गणित
धनगढीः सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। आज साढे ८ बजे बोलाईएको बैठक स्थगित भएको हो। सरकारले सत्तापक्ष दललाई नै बजेटमाथि सहमतिमा ल्याउन नसक्दा बैठक नै स्थगित भएको हो। बैठक आज दिउसो ३ बजेसम्मका स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमाथि प्रदेशसभाको आज शनिबारको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ।
बैठक अपराह्न साढे तीन बजेट आह्वान गरिएको छ। आजै साँझ दोस्रो बैठक पनि बस्ने छ। त्यसअघि सरकार र सत्ता साझेदार दलका नेताहरुबीच निर्णायक छलफल हुँदैछ। केही सांसदहरुले बोल्ने क्रममा बाँकी रहेकाले नबोलेका सांसदहरुको मन्तव्यपछि आजै बस्ने दोस्रो बैठकमा बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
कार्यक्रम पुस्तिका आएदेखि यथास्थितिमा बजेट पारित नगर्ने अडानमा रहेका सत्तारुढ दलका सांसदहरु शनिबार बिहानसम्म टसमस देखिएका थिएनन्। बैठकमा यसअघि बोल्ने सत्तारुढ दलका अधिकांश सांसदहरु बजेटमा असन्तुष्टि व्यक्त गर्दै बजेट पारित गर्न नसकिने भनिरहेका छन्। तर सरकार भने अन्ततः बजेट पारित हुने विश्वासमा छ। कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी छैन तर समर्थन गरेको छ। एकीकृत समाजवादी सत्ता साझेदार हो।
माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी संसदीय दलको सयूक्त बैठकले यसअघि यथास्थितिमा बजेट पारित नगर्ने निर्णय गरेका छन्। कांग्रेस सांसदहरुको पनि बजेटमाथि चर्को आलोचना छ। सांसदहरु आफ्नो सिफारिसका योजनाहरु बजेटमा नसमेटिएको भन्दै रुष्ट छन्। सांसदहरुका असन्तुष्टि चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले साझेदार दलका नेताहरुसँग औपचारिक अनौपचारिक बैठकहरु बढाएका छन्।
प्रदेश सभामा सांसदहरु मन्तव्य हेर्दा बजेट नै पारित हुन नसकेर सरकार ढल्नेसम्मको अवस्था पनि आइलाग्नसक्ने जोखिम देखिएकाले सरकार उनीहरुको मागहरु सम्बोधन गर्ने उपायको खोजीमा अग्रसर देखिएको छ। कांग्रेसको १८ मत छ, माओवादी केन्द्रको १० मत छ। कांग्रेस र माओवादी केन्द्रका सांसद एक ठाउँमा उभिने बित्तिकै नागरिक उन्मुक्ति र एकीकृत समाजवादीले विरोध गरिरहनुको अर्थ नहुने अंक गणित छ। मत विभाजनको माग आएको अवस्थामा के गर्ने भन्नेमा पनि खाका बनिसकेको छैन। यसअघि प्रस्तुत विधेयकहरुमा ध्वनि मतले निर्णयहरु हुँदै आएको छ।