सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनताको जलविद्युतमा सभामुख महरा सहभागी

। फोटो स्रोत ।
२०७६ वैशाख ६, ०१:३० खबर संवाददाता

सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ। देशका महत्वपूर्ण पदमा आसिन भएका व्यक्तिले नै यो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ।

स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन्। सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोले।  

जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरिद गरेको हो।

पहिलो पटक साधारण शेयर खरिद समारोहमा सहभागी हुनु भएका महराले सरकारले नयाँ कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे। सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, “यो असाध्यै राम्रो कार्यक्रम शुरु गरे। सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ  भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ।”

सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता साधारण शेयर खरिद गरी शेयर बजारमा प्रवेश गरेको हो। यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार रुपैयाँ बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएको छ।

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेनमा रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिएको छ। पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजार रुपैयाँको पाँच सय  कित्ता साधराण शेयर आवेदन दिएको छ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएको थियो। माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गरेका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरेको थियो। सोही कार्यक्रम अन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो। यो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। रासस
 

कमेन्ट लोड गर्नुस