सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजी घर मर्मतमा बजेट राखेको र आवासका नाममा कुनै सुविधा लिएको छैन: मन्त्री देउवा 

२०८० असार २८, १२:०१ खबर संवाददाता

धनगढी: भौतिक पूर्वाधार विकास मन्त्रालयले निजी निवास मर्मत गर्न बजेट विनियोजन नगरेको जनाएको छ।

विभिन्न अनलाइन समाचारमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डाक्टर आर्जु राणा देउवाको धनगढीमा रहेको घर मर्मत गर्न १० लाख बजेट छुट्याइएको भन्ने समाचारमा ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले हस्ताक्षर गरेको विज्ञप्तिमा डाक्टर आर्जु राणाको घर मर्मत गर्न प्रदेश सरकारले १० लाख बजेट छुट्याइएको भन्ने कुरा गलत र भ्रामक रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा 'आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मन्त्रालयको मन्त्रीको आवास भवन मर्मत तथा रङ्गरोगन गर्ने कार्यका लागि विनियोजन गरिएको बजेट मन्त्रालय परिसरमै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याइएको हो' भनिएको छ। हालसम्म भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा निजी निवासमै बस्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रीले निजी घर मर्मतका नाममा बजेट विनियोजन नगरिएको बताएका छन्। उनले निजी घरमा बस्दै आएको र निवासका नाममा कुनै सुबिधा नलिएको बताएका हुन्। मन्त्रालय परिसरमै रहेको मन्त्री निवास मर्मत र रङ्गरोगन गर्न १० लाख बजेट विनियोजन गरिएको मन्त्री देउवाले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस