सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२०८० असार २७, ०४:३६ खबर संवाददाता

धनगढीः  कैलाली जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ।

बुधवार औपचारिक कार्यक्रम गरेर कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। नियमित खोपको सुदृढीकरण गरी राष्ट्रिय खोप तालिका अनुसार प्रदान गरिने सबै खोपहरू सबै बालबालिकाहरूले पूर्ण रुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।

कैलालीका १२६ वडा र १३ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा पश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। वि.स. २०३४ देखि विफर उन्मुलन भए पश्चात् नेपालमा खोप कार्यक्रम विस्तारित खोप कार्यक्रम सञ्चालित भएको थियो। नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोग विरुद्ध तथा गर्भवती महिलाका लागि टीटी खोप लगाउने गरिएको छ।

के हो पूर्ण खोप भनेको?

पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरू, सबै बालबालिकाले पूर्ण रुपमा लिएको भन्ने बुझिन्छ। पूर्ण खोप अन्तर्गत पछि तालिकामा अन्य खोपहरू थप भएमा सोसमेत लिएको हुनुपर्छ। हाल पूर्ण खोप सुनिश्चितताको लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरका बालबालिकाहरूमा खोप अवस्थाको पहिचान  र विश्लेषण गरिन्छ।

कैलालीको स्वास्थ्य संरचनाको अवस्था 

कैलाली जिल्लाका १३ स्थानीयमा १६३ वडा रहेका छन्। जिल्लामा ३४७ खोप केन्द्रमा ३८१ खोप सेसन चलाइएको थियो। कैलालीमा ५ अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, ८५ वटा आधारभूत स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य केन्द्र रहेका छन्। कैलालीमा १२ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन्। २०७८ को जनगणनाअनुसार कैलालीको जनसंख्या ९ लाख २६ हजार ८८८, १ वर्षमुनिको जनसंख्या १३ हजार ७५१ रहेको छ। १२ देखि २३ महिनाको जनसंख्या १३ हजार ८०९ र गर्भवती महिलाको संख्या १७ हजार ४४६ रहेको छ।

कैलाली जिल्लालाई सर्वप्रथम २०७४ मंसिर २६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। यसपछि २०७८ बैशाख मसान्तमा जिल्लाका १० स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो। यसैगरी, २०७९ असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो। यो वर्ष असार २६ सम्म सबै पालिका र बुधवार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
 

कमेन्ट लोड गर्नुस