सुदूर नेपाललाई विश्वसँग जोड्दै

करिब २४ करोडमा तयार भयो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय

२०८० असार २५, ०६:५७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको उद्घाटन गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रहरी कार्यालयको उद्घाटन गरेका हुन्। सुदूरपश्चिसम प्रदेश सरकारको २३ करोड ८६ लाख  ९४ हजार ४ सय ४१ रुपैयाँ लागतमा सुविधा सम्पन्न प्रदेश प्रहरी कार्यालय निर्माण भएको हो।

आन्तरिक मामिला मन्त्रालय र कुमार जेभी बिच २०७८ बैशाख १९ मा प्रदेश प्रहरी कार्यालय निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो। दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि निर्माण कम्पनीले पाँच महिना अगावै काम सकेर भवन हस्तान्तरण गरेको हो.

नव निर्मित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय परिसरमा विभिन्न ८ वटा भवन निर्माण गरिएको छ। एउटा कार्यालय भवन, ४ वटा निवास भवन, २ वटा ब्यारेक र एक मेस भवनको निर्माण गरिएको छ।

नव निर्मित कार्यालय भवनको भुई तलामा प्रहरी वरिष्ठ उपरीक्षक कक्ष, मानवस्रोत तथा व्यवस्थापन शाखा, कर्मचारी प्रशासन शाखा, तालिम शाखा, प्रवन्ध तथा भण्डार शाखा, प्रशासन शाखा, कल्याण तथा बजेट शाखा, कार्यदल शाखा, ट्राफिक शाखा, कार्य शाखा प्रमुख कक्ष एवम् महिला तथा पुरुष शौचालय रहेका छन्।

भवनको पहिलो तलामा कार्यालय प्रमुख कक्ष, कानून शाखा, आर्थिक प्रशासन शाखा, इन्टरपोल शाखा, योजना अन्वेषण शाखा, युएन शाखा, अपराध अनुसन्धान शाखा, विधिविज्ञान तथा केनाइन शाखा, सामुदायिक प्रहरी शाखा, सिआरएस शाखा, मिटिङ हल एवम् महिला तथा पुरुष प्रहरी अधिकृत शौचालयहरू रहेका छन्।

नव निर्मित प्रदेश प्रहरी कार्यालयको दोस्रो तलामा साइवर व्युरो शाखा, कम्प्युटर शाखा, मानव बेचविखन तथा ओसारपसार  नियन्त्रण ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो रहेका छन्। प्रदेश प्रहरी कार्यालय भवन भूकम्पीय जोखिमबाट न्यूनीकरण गर्न दुई वटा सिस्मिक ग्याप राखी तीन वटा ब्लकमा विभाजन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस