सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आपतकालीन उद्धार गर्न नगर प्रहरी तैनाथ, टोलफ्री नम्बर सार्वजनिक

२०८० असार २५, ०६:४९ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सहयोग पुगाउन टोल फ्री नम्बर सार्वजनिक गरेको छ। आगलागी, बाढी, डुबान र घरमा सर्प पसे सहयोग माग्न टोलफ्री नम्बर सार्वजनिक गरिएको हो। रातिको समयमा बिरामी पर्दा एम्बुलेन्स सेवा र अस्पतालमा बिरामीको मृत्यु भए शव वाहन सेवा पनि निःशुल्क प्रदान गरिनेछ। नगर प्रहरीले विपद्को समयमा २४ सैं घण्टा नगरवासीलाई सहयोग गर्ने व्यवस्था मिलाइएको छ।

आपतकालीन अवस्थामा टोल फ्रीनम्बरमा सम्पर्क गरे नगर प्रहरी सहयोग गर्न तुरुन्त पुग्ने व्यवस्था मिलाइएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। ‘उपमहानगरपालिकाले आपतकालीन अवस्थामा नगरवासीलाई सहयोग माग्न टोल फ्रीनम्बर फोन गर्न सक्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘स्थानीय सरकारले दिन सक्ने सेवा मध्ये आपतकालीन अवस्थामा उद्धार सेवा पनि एक हो। नगर प्रहरीको सहयोग माग्न टोल फ्रीनम्बर १८१०५००००९० मा सम्पर्क गर्न अनुरोध छ।’

धनगढी उपमहानगरपालिकाले विपद्को समयमा सहयोग प्राप्त गर्न टोल फ्रीनम्बर सार्वजनिक गरेको हो। उपमहानगरको १९ वटै वडामा हुन सक्ने विपद्का घटनामा तुरुन्त सहयोग माग्न नगरवासीले पैसा नलाग्ने नम्बर अर्थात् टोल फ्रीनम्बरमा फोन गर्न सक्नेछन्। उपमहानगरपालिकाले नगर प्रहरीलाई नागरिकको सेवामा लाग्न प्रेरित गर्न आवासीय सुबिधा प्रदान गरेको छ। नगरपालिका भवनमा व्यारेक निर्माण गरी २४ सैं घण्टा विपद्मा सहयोग गर्न नगर प्रहरीलाई तैनाथ गरिएको छ।

बाढी आउँदा र घर तथा बस्ती डुबानमा परे उद्धार गर्न नगर प्रहरीलाई सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापन र उद्धारको तालिम दिइएको छ। यस्तै, अग्नि नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई तालिम दिने योजना उपमहानगरको छ। रातिको समयमा बिरामी पर्दा, रुख ढलेर हटाउनुपर्ने अवस्था आउँदा र घर भित्र सर्प पसे निकाल्न नगर प्रहरीलाई फोन गर्नासाथ सहयोग मिल्ने नगरप्रमुख गोपाल हमालले बताए।

‘नगर प्रहरी आजबाट २४ सैं घण्टा नगरपालिकामा बस्नेछ। उनीहरूलाई ब्यारेक बनाएका छौँ। रासन, तालिम र उपकरणको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘बाढी र डुबानमा कसरी उद्धार गर्ने भन्ने तालिम दिएका छौँ। नगर प्रहरी खबर पाउनासाथ उद्धारका लागि नागरवासीको घर आँगनमा पुग्नेछ।’ उपमहानगरपालिकाले आपतकालीन अवस्थामा नागरिकलाई सेवा दिने व्यवस्था मिलाएको दाबी गरेको छ। अस्पतालमा रातिको समयमा निःशुल्क एम्बुलेन्स सेवा र अस्पतालमा  आफन्तको मृत्यु हुँदा निःशुल्क शव वाहन सेवा प्रदान गरिनेछ।

यस्तै, विशेषज्ञ वडा क्लिनिकका लागि विद्युतीय  गाडीको व्यवस्था गरिएको छ। रुख ढलेर सडक, बाटो तथा घरमा क्षति गरेमा नगर प्रहरी तत्काल पुगेर अबरोध हटाउने छ। नगर प्रहरीलाई सोमवार र मङ्गलवार दुई दिने सर्प चिन्ने र समात्ने तालिम दिने व्यवस्था मिलाइएको छ। नगर प्रहरीलाई नगरवासीले गाह्रो अफ्ठ्यारो हुँदा टोल फ्रीनम्बरमा फोन गरेर बोलाउन नगरप्रमुख हमालले आग्रह गरेका छन्। धनगढी उपमहानगरपालिकाले पैसा नलाग्ने सम्पर्क नम्बर १८१०५००००९० मा आवश्यक सहयोगका लागि फोन गर्न अनुरोध गरेको छ। नगर प्रहरी फोन कल पाउनासाथ सहयोगका सम्बन्धित ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ। धनगढीमा २५ जना नगरप्रहरी कार्यरत छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस