सुदूर नेपाललाई विश्वसँग जोड्दै

उज्यालो धनगढीः कहाँसम्म पुग्यो दोस्रो चरणको ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य?

२०८० असार २२, ०२:२४ खबर संवाददाता

धनगढीः उज्यालो धनगढी अभियान अन्तर्गत दोस्रो चरणको ५० प्रतिशत लाइट जडानको काम पुरा भएको छ। धनगढी चौराहदेखि भन्सार रोडसम्म दोस्रो चरण अन्तर्गतको काम भइरहेको छ। धनगढी उपमहानगरपालिकाको लगानीमा उज्यालो धनगढी अन्तर्गत दोस्रो चरणको काम भइरहेको हो। यसअघि धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएको छ।

लाइट जडान गरिएपछि यो खण्डको ६ दशमलव ६ किलोमिटर सडक रातको समयमा झिलिमिली बनेको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा बत्ती जडान गरिएको हो।
६ लेन सडकको मिडियनमा दुई सय १६ पोलमा चार सय ३२ आधुनिक बत्ती जडान गरिएका छन्।

सडक बत्ती जडानमा उपमहानगरको ६० र सडक बत्ती प्रवद्र्धन आयोजनाको ४० प्रतिशत लगानी रहेको थियो। सडक बत्ती जडानले दुर्घटना न्यूनीकरणसँगै सहरी सौन्दर्य बढाएको छ। रातिको समयमा बत्तीबाट आवश्यकताअनुसार उज्यालो प्रवाह हुने गरेको छ। राति सवारीको चाप अत्यधिक हुने बेला बल्बबाट बढी प्रकाश प्रवाह हुने र मध्यरातमा कम हुने गरेको छ। रात परेपछि बत्ती आफैँ बल्ने र उज्यालो भएपछि निभ्ने सेन्सर जडान गरिएको उपमहानगरले जनाएको छ।

यसरी उज्यालो धनगढी अन्तर्गत पहिलो चरणको काम सम्पन्न गरेर बैशाख तेस्रो सातादेखि दोस्रो चरणको काम सुरु गरिएको थियो। ६ लेन सडकको बाँकी खण्डमा अत्याधुनिक सडक बत्ती जडानको काम अहिले जारी छ। जथाभावी बाटो काट्नाले ६ लेन सडकमा दुर्घटना बढेपछि त्यसलाई रोक्ने प्रयासस्वरूप मिडियनमा तारजाली पनि लगाएको छ।

बत्ती जडान गरिएपछि रातिको समयमा अँध्यारोका कारण हुने दुर्घटना न्यूनीकरण हुने उपमहानगरले जनाएको छ। ६ लेनअन्तर्गत धनगढी ट्राफिक चोकदेखि भन्सारसम्मको दुई किलोमिटर खण्डमा करिब एक करोडको लागतमा आधुनिक बत्ती जडानको काम भइरहेको उपमहानगरका विद्युत शाखाका प्राविधि महेश भट्टले बताए। त्यस्तै, ६५ लाख रुपैयाँको लगानीमा नगरका १० ठाउँमा १६ मिटर अग्ला ‘हाइमास्ट लाइट’ जडान गर्ने काम यसअघि नै भइसकेको छ।

सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता बढाएको उपमहानगरको दाबी छ। धनगढी चौराहदेखि भन्सारसम्म ५३ वटा पोल जडान हुँदैछन्। अहिले ५० प्रतिशत पोल जडान भइसकेको छ। धनगढी उपमहानगरपालिकाको एकल लागतमा दोस्रो चरणको काम भइरहेको छ। भन्सारदेखि चौराहसम्मको मात्र ७५ प्रतिशत काम पुरा भएको उनले बताए। २२ वटा पोल क्याम्पसचोक तिर जडान गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस