सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको व्यापार खस्कियो, अधिकांश व्यवसायीक प्रयोजनका सटर खाली

२०८० असार २२, १०:२६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेश मार्ग अत्तरिया क्षेत्रको व्यापार–व्यवसाय खस्किदै गएको छ। व्यापार हुन छोडेपछि एकपछि अर्को सटर खाली भइरहेका छन्। कुनै समय अत्तरियामा सटर पाउनु ठुलै युद्ध जितेजस्तै हुने गरेको थियो। तर अहिले भने धमाधम सटर खाली भइरहेका छन्। बजार क्षेत्रमा जताततै सटर तथा घर खाली भएका सूचना टाँस गरिएको छ।

सटर भाडा घटाउँदा पनि कोहि इच्छुक नभएको गोदावरी नगरपालिका–१ का घरधनी कृपाराम जोशीले बताए। यसअघि सटरका लागि हानथाप नै हुने गरेको थियो। अग्रिम भनेजती डिपोजिट समेत पाउने गरेकोमा अहिले सटर भाडामै लाग्न छोडेको उनले बताए। अत्तरियाको महेन्द्रनगर रोड, धनगढी, रोड तथा पहाड रोड र भित्रि सडकमा जताततै व्यवसायी प्रयोजनका घर तथा सटर खाली भएको सूचना टाँस गरिएको छ।

अहिले सटर लिइदिनु पर्यो भन्दै घरधनीले नै व्यवसायीलाई फकाउने गरेका छन्। यसअघि भने व्यवसायीले घरधनीलाई सटरका लागि फकाउने गरेका थिए। अत्तरियाको धनगढी रोड, महेन्द्रनगर रोड र पहाड रोडमा सटर पाउनु नै ठुलो सौभाग्यको रुपमा लिने गरिन्थ्यो। अहिले भने जताजतै खाली सटर छन्। तर व्यापार व्यवसायी नै हुन छोडेपछि सटर तथा घर भाडामा भनेर ठुलाठुला अक्षरले लेखेर साइट बोर्ड नै टाँस गरेका दृष्य जताततै देखिन थालेको स्थानीय प्रमोद खत्रीले बताए।

सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेश मार्ग अत्तरियाकै हालत यस्तो छ भने अन्य क्षेत्रको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिने व्यवसायीहरु बताउँछन्। साथै सटर भाडामा बसेकाहरुले समेत पहिला जस्तो महिनामा तोकिएको भाडा तिर्न सकिरहेका छैनन्। कतिपयले त सामान समेत भित्रै छोडेर सटरमा ताल्चा लगाएर महिनौदिन भइसक्दा पनि खोलेका छैनन्।

अत्तरियामा अहिले निजी क्षेत्रको छाता संगठन अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन भइरहेको छ। संघभित्र एक हजार भन्दा बढी व्यवसायी सदस्य छन्। तर अधिकांश नाम मात्रका भएको व्यवसायीकै आरोप छ। व्यापार व्यवसाय केहि छैन तर संघको सदस्य भनेका हाम्रै साथीहरु धेरै भएको एक व्यवसायीले बताए।

कमेन्ट लोड गर्नुस