सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनबाट २० हजार एचपीभी खोप खरिद

२०८० असार २१, ०७:३८ खबर संवाददाता

काठमाडौं: सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप खरिद गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो। परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए।

उनले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिने बताए। उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ। सरकारले चीनबाट पहिलो पटक यो खोप खरिद गरेर ल्याएको हो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताए।

नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उनले जानकारी दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार दिनमा ६  महिलाको मृत्यु हुने उनको भनाइ छ। ‘अस्पतालमा आउनेमा दैनिक ६ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ’ उनले भने, ‘अझ गाउँघरमा यस क्यान्सरको रोगका कारणले कतिको मृत्यु हुन्छन् भन्ने तथ्यांक छैन।’

क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार वर्षमा करिब दुई हजार ५०० महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्छ। असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने र चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने विज्ञ बताउँछन्।
 

कमेन्ट लोड गर्नुस