भ्रष्टाचारविरोधीको लडाइँमा सतिसालझैँ उभिनेछुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन्।
बुधबार अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताए। कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टमाथि कारबाही सुरु भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो पक्रिया रोकिन्न, हेर्दै जानुहोला। थप फाइलहरू खोलिन्छ र कारबाही हुन्छ।’’
२०६४ सालमा राम्रो परिणाम माओवादीको पक्षमा आए पनि पार्टी टुटफुट र विभाजनले आन्दोलन कमजोर भएको स्वीकार गर्दै उनले अहिले एकताको राम्रो आधार बन्दै गएको समेत बताए। माओवादी सरकारमा भएको कतिपयले नपचेर विज्ञप्ति भएको भन्दै उनले देश र जनताको पक्षमा लागि रहनुपर्ने बताए।


