सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली प्रादेशिक अस्पतालमा टिक्न थाले चिकित्सक

२०८० असार १८, ०७:०१ नारायण अवस्थी

धनगढीः वि.स. २०२० मा हेल्थ सेन्टरको रुपमा कञ्चनपुरको महेन्द्रनगर बजारमा स्थापना भएको महाकाली अस्पताल २०७८ जेठ १९ गते प्रादेशिक अस्पताल घोषित भएको हो। ५० शय्याको स्वीकृत दरबन्दीमा सञ्चालित महाकाली अस्पतालमा २०७६ सम्म चिकित्सक जानै नमान्ने अवस्था थियो। २०७५ जेठ २ गतेदेखि २०७८ असार २५ गतेसम्म  निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका डाक्टर हरिकुमार श्रेष्ठको कार्यकालमा चिकित्सकहरू महाकाली अस्पतालमा काम गर्न आउन थालेका हुन्।

अहिले अस्पतालमा १३ जना विशेषज्ञसहित २५ जना चिकित्सक कार्यरत रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले बताए। ‘अहिले अस्पतालमा २५ जना युवा चिकित्सक छौँ। अस्पतालमा उपचार सेवा पनि विस्तार भएका छन्’ उनले भने, ‘उपचार सेवा बढेको छ तर जनशक्ति र उपकरण अभावमा बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ।’ २०७५ अगाडि डाक्टर जान नमान्ने महाकाली प्रादेशिक अस्पतालमा अहिले २५ जना युवा चिकित्सक कार्यरत छन्।

अस्पतालमा एमजीडिपी ३ जना, हाडजोर्नी रोग विशेषज्ञ २ जना, नाक कान घाँटी रोग विशेषज्ञ १ जना, सर्जन २ जना, एनेस्थेसियोलोजिस्ट २ जना र प्रसुति रोग विशेषज्ञ ३ जना कार्यरत छन्। एक सय जनाको स्थायी दरबन्दी रहेको महाकाली अस्पतालमा ५८ जना मात्रै स्थायी जनशक्ति कार्यरत छ। स्थायी चिकित्सक भने एक जना मात्रै छन्। अस्पतालमा हाल २०९ जना स्वास्थ्य जनशक्ति कार्यरत छ। जसमध्ये १५१ जना करार सेवा र छात्रवृत्तिको जनशक्ति रहेको डाक्टर भट्टले बताए।

‘प्रादेशिक अस्पताल भएपछि महाकालीमा विशेषज्ञ सेवा सुरु भएका छन्। चिकित्सक बस्न थालेका छन्। यहाँका नागरिकको पनि धारणा परिवर्तन भएको छ’ उनले भने, ‘सिटिस्क्यान सेवा नहुँदा टाउकामा चोटपटक लागेका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था छ।’ महाकाली प्रादेशिक अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा एक जना डेन्टल सर्जनको दरबन्दी छ। तर, एक जना बाहेक अन्य दरबन्दी खाली छन्।

अस्पतालमा रेडियोलोजी, डाइलाय र ६ शय्याको आइसियू सेवा विस्तार भएको छ। छुट्टै इमर्जेन्सी ब्लक रहेको महाकाली अस्पतालमा सिटिस्क्यान सेवा नहुँदा टाउकोमा चोटपटक लागेका बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता छ। ५० शय्याको स्वीकृत दरबन्दीमै अपुग जनशक्ति रहेको महाकाली अस्पतालमा १७३ शय्या सञ्चालनमा छन्। अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिए महाकाली अस्पतालमा आउने बिरामीलाई सहज उपचार दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए।

‘महाकाली प्रादेशिक अस्पताल घोषणा भएपछि भौतिक पूर्वाधारमा सुधार भएको छ। तर, सबै किसिमका बिरामीको उपचार गर्न सम्भव छैन’ उनले भने, ‘हाम्रो मुख्य समस्या जनशक्तिको हो। एक सय शय्यामा अस्पताल स्तरोन्नति भयो उपचार नपाएर बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था अन्त्य हुन्थ्यो।’ दैनिक चार सयदेखि ६ सय बिरामी आउने महाकाली प्रादेशिक अस्पतालमा भौतिक पूर्वाधारको अवस्थामा सुधार भइरहेको छ। तर, उपचार गर्न आउने बिरामीलाई विशेषज्ञ चिकित्सक र शय्या अभावले अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ। अस्पतालमा आउने सबै बिरामीको उपचार गर्न जनशक्ति व्यवस्थापन र एक सय शय्यामा स्तरोन्नति हुनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भट्टले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस