सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मुख्यमन्त्री कार्यालय अगाडिको घटना दुई महिनासम्म गुपचुप

२०८० असार १७, ०७:४७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ तेघरीका ५२ वर्षीय खडग साउँद सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाइमा काम गर्दै आएका थिए। उनी सरकारी सेवाबाट सेवानिवृत हुन केही समय मात्र बाँकी थियो। घरका मुली उनै थिए। घरको पूर्ण जिम्मेवारी उनैमा थियो।

गत वैशाख १८ गते राति कार्यालय नजिकै साउँद दुर्घटनामा परे। सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उनलाई पछाडिबाट मोटरसाइकलले ठक्कर दियो। मोरसाइकलको ठक्करबाट साउँद घाइते भए। मोटरसाइकलसहित चालक फरार भए। 

प्रहरीले सडकमा पल्टिएका साउँदलाई सेती प्रादेशिक अस्पताल पुर्याए। प्रहरीले परिवारका सदस्यलाई पनि खबर गरे। साउँदका ज्वाइँ दिनेश खड्का र छोरी लक्ष्मी साउँद अस्पताल पुगे। उनीहरुले खडगलाई बचाउन हरदम प्रयास गरे। रातिको समयमा दुर्घटनामा घाइते भएका साउँदको उपचारमा सेती अस्पतालले बेवास्ता गरेको भान उनीहरुलाई भयो। साउँदलाई  थप उपचारका लागि उनीहरुले मायामेट्रो अस्पतालमा ल्याए। उनको टाउकोमा चोट थियो। मायामेट्रो अस्पतालका चिकित्सकहरुले साउँदलाई बचाउन मुस्किल रहेको बताए। चिकित्सकहरुले बाँच्ने सम्भावना ५ प्रतिशतसमेत नभएको भनेका थिए। मायामेट्रो अस्पतालले रातिको १ बजे साउँदलाई बचाउन नसकिएको बतायो। 

साउँदको परिवार शोकमा थियो। मोटरसाइकललाई प्रहरीले खोजी गर्न थाल्यो। मुख्यमन्त्री कार्यालय लगायतका सिसिटिभी क्यामरा हेर्न थालियो। धनगढीको मुख्य सडकमा पैदल यात्रीलाई ठक्कर दिने मोटरसाइकल फरार भएको थियो। प्रहरीले विभिन्न जुक्ति लगाउन थाल्यो। तर दुर्घटनाको दुई महिनासम्म घटना बाहिर आएन। प्रहरीले गुपचुपमै राख्यो। खडग साउदँको परिवार टुहुरो भयो।

उनीहरुले संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख मार्फत साउँदलाई ठक्कर दिने मोटरसाइकलको खोजीका लागि आग्रह गरे। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रहरी प्रमुख लगायतलाई भेटे। तर घटनाको दुई महिनासम्म मोटरसाइकल फेला परेको छैन। कैलाली प्रहरीले सिसिटिभीको भिडिओ परिक्षणका लागि केन्द्र पठाएको छ। मोटरसाइकको नम्बर तथा ठक्कर दिनेको पहिचानका लागि भिडिओ काठमाण्डौं पठाइएको हो। साउँद श्रीमती र छोरीसहित सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको आवाश गृहमा बस्दै आएका थिए।
 

कमेन्ट लोड गर्नुस