सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले काम गर्न सकेनः अध्यक्ष नेपालको गुनासो

२०८० असार १६, ०४:३३ खबर संवाददाता

काठमाडौंः  सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे। ६५औँ संसद् दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न पनि सांसदलाई आग्रह गरे।

जनताको प्रतिनिधि भएको नाताले सांसदले उनीहरूको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले जनसेवाको कामलाई सहज बनाउने गरी अघि बढ्न सरकार र सांसदको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यकता औँल्याए। उनले, भने‘‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने हुन्छ। अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनुपर्नेछ। जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन। भ्रष्टाचार अहिले पनि व्याप्त छ। जनताको प्रतिनिधिको हैसियतले सांसदले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’’
 

कमेन्ट लोड गर्नुस