सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आर्थिक अनियमितता विरुद्धका ८३८ उजुरी दर्ता

२०८० असार १६, ०३:४९ खबर संवाददाता

धनगढीः चालु आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिममा अनियमितता विरुद्धका उजुरी बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो सातासम्म अनियमितता विरुद्धका ८ सय ३८ उजुरी अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको हो।

कुल दर्ता उजुरीमध्ये ३५ प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्। संघ, प्रदेश र स्थानीय तहहरुबाट सञ्चालित योजना कार्यान्वयनमा आर्थिक अनियमितता हुने गरेपछि त्यस विरुद्ध अख्तियारमा एकपछि अर्को उजुरी परेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी एक सय ४२ उजुरी दर्ता भएका छन्।

भदौमा ८४, असोजमा ५१, कार्तिकमा ३६, मंसिरमा ६०, पौष महिनामा ६४, माघमा ६३, फागुनमा ५७ तथा चैत महिनामा ७५ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांक छ। त्यस्तै बैशाख महिनामा अनियमिता विरुद्धको उजुरीको संख्या बढेर ९७ पुगेको छ। जेठ महिनामा ८८ र असाढ १५ गतेसम्म अनियमितता विरुद्धका २१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।

कार्यालयमा स्रोतअनुसारका उजुरीको संख्या ८ सय ३८ नाघेको छ। टेलिफोन, फेसबुक, इमेल, मोबाइल एसएमएस, भाइबर, आयोगको वेभसाइट, फ्याक्स, हुलाक सेवा तथा लिखित निवेदनबाट आएका उजुरीलाई अख्यिारले दर्ता गर्दै आएको छ। सुदूरपश्चिम प्रदेशभित्र आर्थिक अनियमितता विरुद्धका उजुरी हरेक वर्ष बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नवराज भण्डारीले बताएका छन्। उनका अनुसार कुल दर्ता उजुरीमध्ये स्थानीय तहसँग सम्वन्धित सबैभन्दा बढी छन्। प्राप्त उजुरीमाथि अनुसन्धान गरेर सँगसँगै कारवाही प्रक्रिया समेत अघि बढाउने काम भइरहेको कार्यालयको दाबी छ।

कमेन्ट लोड गर्नुस