सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १३ पालिकाको यस्तो छ आगामी बजेट, अन्तरिक आय कसको कति?

२०८० असार १५, ०१:१० खबर संवाददाता

धनगढीः कैलालीका १३ वटै पालिकाहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। संघ र प्रदेश सरकारबाट चार प्रकारका अनुदानको रूपमा प्राप्त हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटको आधारमा पालिकाहरुले आगामी बजेट सार्वजनिक गरेका हुन्। सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीले आगामी वर्ष आन्तरिक आयबाट ३५ करोड ४३ लाख २० हजार २१८ रुपैयाँ उठ्ने अनुमान गरेको छ।

घोडाघोडी नगरपालिकाले आन्तरिक आय १५ करोड ५० लाख हुने अनुमान गरेको छ। गौरीगंगा नगरपालिकाले आन्तरिक राजस्वबाट तीन करोड ४१ लाख ७० हजार, टीकापुर नगरपालिकाले आन्तरिक आय ११ करोड, जानकी गाउँपालिकाले आन्तरिक आय तीन करोड उठ्ने अनुमान गरेको छ। धनगढीले आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट सार्वजनिक गरेर बसेट पास भइसकेको छ।

चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार र पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँ खर्च हुने अनुमान छ। धनगढीले आन्तरिक राजस्व बाँडफाँटबाट ४६ करोड ९७ लाख ९२ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरण ९२ करोड ८५ लाख प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण पाँच करोड ३२ लाख १२ हजार र चालु आर्थिक वर्षमा खर्च नभई सरी आएको रकम १२ करोड ५० हजार रुपैयाँ प्राप्त हुने जनाएको छ।

धनगढीले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि नौ करोड १९ लाख २१८ रुपैयाँ बढीको बजेट ल्याएको छ। अनुदानबाट संघ र प्रदेशबाट ९९ करोड ७१ लाख ४५ हजार रुपैयाँ वित्तीय हस्तान्तरणको स्रोत पाउँदा चालु वर्षका लागि धनगढीले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा २६ करोड ८८ लाख ४६ हजार अन्तरिक आय, ४७ करोड २९ लाख ३३ हजार राजस्व बाँडफाँट र अघिल्लो वर्षको मौज्दात १० करोड रुपैयाँ स्रोत थियो।

त्यस्तै गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि ८९ करोड ७१ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ। संघ सरकारबाट वित्तीय हस्तान्तरण ३९ करोड ५७ लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट तीन करोड ६५ लाख २० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ। नगरपालिकाले प्रशासनतर्फ १३ करोड ७५ लाख ५४ हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ पाँच करोड ५० लाख, स्वास्थ्यतर्फ एक करोड २० लाख, कृषितर्फ ८५ लाख, पशु सेवातर्फ ८० लाख, महिला तथा बालबालिका क्षेत्रतर्फ ४० लाख, योजना तथा पूर्वाधार विकासमा २० लाख ६९ हजार रकम विनियोजन गरिएको छ।

बर्दगोरिया गाउँपालिकाले आगामी वर्षका लागि ७९ करोड ८६ लाख १३ हजार १२४ रुपैयाँको बजेट विनियोजन गरेको छ। स्वास्थ्य, शिक्षा, खानेपानी, भूमि व्यवस्था र स्वरोजगारलाई प्राथमिकतामा राख्दै आगामी बजेट सार्वजनिक गरिएको हो। नेपाल सरकारबाट वित्तीय हस्तान्तरण ३४ करोड ६५ लाख र राजस्व बाँडफाँट नौ करोड ३३ लाख आठ हजार ६ सय प्राप्त हुने अनुमान छ।

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण दुई करोड २४ लाख १८ हजार र राजस्व बाँडफाँट २२ लाख ६१ हजार, आन्तरिक स्रोतबाट दुई करोड ५० लाख, चालु वर्षमा खर्च नभई बचेको मौज्दात आठ करोड ६८ लाख ५१ हजार ९३० रुपैयाँ, सामाजिक सुरक्षा भत्ताका लागि संघबाट प्राप्त २० करोड, दातृ निकायको कार्यक्रम एक करोड ७७ लाख ३३ हजार ६०४ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। घोडाघोडी नगरपालिकाले आगामी वर्षका लागि ९७ करोड ४३ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

संघीय वित्तीय हस्तान्तरणबाट ६० करोड चार लाख, राजस्व बाँडफाँटबाट १६ करोड ९० लाख ९० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट चार करोड ३५ लाख ६० हजार, राजस्व बाँडफाँटबाट ६३ लाख ४८ हजार रुपैयाँ स्रोत बेहोरिने छ। गोदावरी नगरपालिकाले एक अर्ब २२ करोड ९४ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ। चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र पुँजीगततर्फ ४६ करोड ६६ लाख आठ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। चुरे गाउँपालिकाले ४९ करोड ८७ लाख आठ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ।

चालुतर्फ २९ करोड ९२ लाख ६८ हजार र पुँजीगततर्फ १९ करोड ९४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। भजनी नगरपालिकाले ६४ करोड ८७ लाख पाँच हजार रुपैयाँ, कैलारी गाउँपालिकाले ६३ करोड ४८ लाख ६९ हजार रुपैयाँ र जोशीपुर गाउँपालिकाले ४४ करोड ३५ लाख ८४ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकाले पनि आइतबार नै सभामा बजेट प्रस्तुत गरेका छन्। जानकी गाउँपालिकाले शुक्रबार नै सभामा बजेट पेस गरी सोही दिन पारित गरेका छन्।

जानकीले ६१ करोड पाँच लाख ७१ हजार बजेट पारित गरेको हो। चालुतर्फ ४२ करोड ५४ लाख ६० हजार ७५४ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ५१ लाख १० हजार २४६ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। टीकापुर नगरपालिकाले ८१ करोड २३ लाख रुपैयाँको बजेट पारित गरेको छ। संघीय वित्तीय हस्तान्तरण ६४ करोड ९३ लाख ५५ हजार, प्रदेश वित्तीय हस्तान्तरण चार करोड ७७ लाख २१ हजार र आन्तरिक आय ११ करोड ४२ लाख ३८ हजार प्राप्त हुने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस