कैलालीको सुन्धारा महिला सामुदायिक वनमा वृक्षारोपण

धनगढीः कैलालीको कैलारी गाउँपालिका–३, मोहनपुरमा रहेको सुन्धारा महिला सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। राष्ट्रिय वृक्षारोपण दिवशको अवसरमा बिहीवार उक्त सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई सय बिरुवा रोपिएका हुन्।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले वृक्षारोपण कार्यको उद्घाटन गरेका थिए। सो अवसरमा मन्त्री धामीले वृक्षारोपणबाट सामुदायिक वन संरक्षणमा टेवा पुग्ने बताए । वन र वातावरण संरक्षणका लागि मन्त्रालयले मातहतका कार्यालयहरु मार्फत् यस वर्ष वृक्षारोपण कार्यक्रम सुरु गरेको उनले जानकारी दिए।
दुधुवा नेशनल पार्कसँग जोडिएकाले जैविक कोरिडोरका लागि सुन्धारा महिला सामुदायिक वन महत्वपूर्ण रहेकोले यसको संरक्षणमा ध्यान दिन मन्त्री धामीले आग्रह गरे। प्रदेश सरकारले कुनै पनि वहानामा जंगल मास्न नदिने बताए। ‘जंगली जनावरबाट हुने क्षति रोक्दै वन संरक्षण गर्नुपर्छ। प्रदेश सरकारले कुनै पनि वहानामा जंगल मास्न दिनेछैन,’ उनले भने, ‘नागरिकले वनबाट हुने लाभ लिनुपर्छ र वन संरक्षण पनि गर्नुपर्छ।’
आफ्नो घरआँगनमा फलफूललगायतका विरुवा रोपेर लाभ लिन र वातावरण संरक्षणमा टेवा पुर्याउन मन्त्री धामीले आग्रह गरे । वन र सव वन डिभिजन कार्यालयहरु मार्फत् यस वर्ष वृक्षारोपण सुरु गरिएको उनले जानकारी दिए। कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले रोपेका विरुवा संरक्षण गर्न उपभोक्तालाई आग्रह गरे।
सुन्धारा सामुदायिक वन अन्तर्गत मोहना नदी छेउमा वृक्षारोपण गरिएको हो। डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले वृक्षारोपणले वन संरक्षणसँगै नदीले कटानी र पटानी गरेको जमिन उकास हुने विश्वास व्यक्त गरे। नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर वन र जमिन संरक्षण गर्न खोजेको उनले बताए। ‘विरुवा रोप्ने तर हुर्काउनमा ध्यान दिने आरोप वन कार्यालयलाई लाग्दै आएको छ । हामीले यहाँ पहिले तारवार गरेर वृक्षारोपण गर्दैछौँ,’ पराजुलीले भने, ‘यसले नदीले कटान गरेको जमिन उकाससँगै वातावरण संरक्षणमा पनि टेवा पुग्नेछ।’ भारतको दुधुवा नेशनल पार्क र बसन्ता जैविक मार्गसँग जोडिएको सुन्धारा सामुदायिक वन महत्वपूर्ण रहेको उनले बताए।
उक्त सामुदायिक वनका अध्यक्ष सीता चौधरीले गत वर्ष पनि वृक्षारोपण गरिए पनि विरुवा जोगाउन नसकिएको बताइन्। तारवार गरिएकाले यस वर्ष विरुवा जोडिने उनले विश्वास व्यक्त गरिन्।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री गीतादेवी माल, संविधान सभा सदस्य बीरमान चौधरी, मन्त्रालयका सचिव बेदकुमार ढकाल, कैलारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाजुराम चौधरी, मन्त्रालय र वनका कर्मचारीलगायतको सहभागिता रहेको थियो। सव वन डिभिजन कार्यालय बसन्ताको आयोजनामा वृक्षारोपण कार्यक्रम भएको हो

