धनगढीको मुख्य सडक तोकिएको समय अगावै पूरा भए नागरिक अभिनन्दन
धनगढीः सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले धनगढीको मुख्य सडक निर्माणको शिलान्यास गरेका छन्। प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजारको लागतमा कैलाली पुलदेखि क्याम्पसचोकसम्म २ दशमलव २८ किलोमिटर सडक निर्माणको काम मङ्गलवारबाट सुरू भएको हो।
धनगढीको केएस कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको जिम्मा पाएको छ। गत बैशाख २७ गते सडक निर्माणको सम्झौता गरेको कम्पनीले २०८२ बैशाख २६ गते भित्र सम्पूर्ण काम सक्नुपर्ने छ। तर, तोकिएको समयभन्दा अगाडि नै स्तरीय सडक निर्माण गर्ने निर्माण कम्पनीका सञ्चालक इन्जिनियर भीम पालले बताए। ‘म पनि यहाँको स्थानीय नै हो।
अहिले निर्माण व्यवसायीले समयमा काम सक्दैनन् भन्ने सर्वसाधारणको बुझाई छ। आक्रोश पनि छ,’ उनले भने, ‘धनगढीको मुख्य सडक तोकिएको समय अगावै गुणस्तरीय निर्माण गरेर देखाउने प्रतिवद्धता गर्दछु।’ प्रदेश सरकारले पहिलो पटक धनगढीको मुख्य सडकलाई आधुनिक सहरी सडकका रुपमा निर्माण गर्न लागेको हो। चार लेनको सडकमा दुबैतर्फ फुटपाथ, साइकल लेन र बिचमा मिडियन निर्माण हुनेछ। सडक बत्ती, पानी, बिजुली र ढलको निकासका लागि सडकमा युटिलिटी कोरिडोर बन्नेछ।
पानीको पाइप बिछ्याउन, बिजुली र टेलिफोनको तार भूमिगत राख्न मिल्ने गरी सडक बनाइने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताए। ‘सडक निर्माणमा महत्वपूर्ण जिम्मा निर्माण कम्पनीको हुन्छ। कम्पनीलाई सबैले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रालय, पालिका र स्थानीयको सहयोगले मुख्य सडकलाई प्रदेश सरकारको नमुना परियोजनाका रुपमा निर्माण गरिनेछ।’ कैलाली पुलदेखि क्याम्पसरोडसम्म सडक निर्माण गर्ने धनगढीका ४२८ घर धनीहरुले स्वस्फूर्त घर तथा अन्य संरचना हटाएका थिए।
यस्तै, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, तत्कालिन भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मालिला मन्त्री प्रकाश रावलले मुख्य सडक निर्माणको प्रस्ताव गर्त वर्ष नै स्वीकार गरेर बजेटको सुनिश्चिततासँगै योजनाको टेण्डर आह्वान भएको थियो। प्रदेश सरकारले धनगढी उपमहानगरले राखेको सडक निर्माणको प्रस्ताव स्वीकार गरेको थियो भने घरधनीहरूले नीजि संरचना हटाएर उपमहानगरलाई सहयोग गरिएको नगरप्रमुख गोपाल हमालले बताए।
‘धनगढीको विकास हुन्छ भन्ने मनसायले ४२८ घरहरू भत्काएर नगरवासीले सहयोग गर्नुभएको छ,’ उनले भने, ‘पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाश रावल ज्यूप्रति पनि आभार व्यक्त गर्न चाहान्छु। प्रदेश सरकारले उपमहानगरको प्रस्ताव स्वीकार गर्यो र स्थानीयले संरचान हटाएर सहयोग गर्नाले सडक निर्माण सम्भव भएको हो।’
धनगढीको मुख्य सडकसँगै अन्य रणनीतिक रुपले महत्वपूर्ण ठानिएका सडकको काम पनि आगामी आर्थिक वर्षबाट अगाडि बढ्ने भएको छ। मुख्य सडकलाई आधुनिक र नमुना बनाउन बजेटको कमि हुन नदिने प्रदेश सरकारले जनाएको छ। धनगढीलाई आधुनिक सहर बनाउन मुख्य सडकसँगै नगर क्षेत्रका अन्य सडकमा पनि पर्याप्त बजेटको व्यवस्था गरिएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताए।
‘कैलाली पुलदेखि हुलाकी सडकको शून्य विन्दुसम्म नमुना सडक निर्माण हुन्छ। सडकको काम पनि समयमै सकिनेछ,’ उनले भने, ‘यो सडक निर्माणमा स्रोतको अभाव हुन दिइने छैन। धनगढीका पुराना र रणनीतिक महत्वका सडकमा पनि यो पटक प्रदेश सरकारले बजेट हालेको छ।’
निर्माण व्यवसायीले तोकिएको समयभन्दा अगाडि नै धनगढीको मुख्य सडक निर्माण गरेर देखाउने बताएका छन्।
प्रदेश सरकारले सडकलाई प्रदेशकै नमुना विकास योजनाका रुपमा विकास गरिने जनाएको छ। धनगढी उपमहानगरपालिकाले भने एक वर्षभित्र सडक निर्माणको काम सम्पन्न गरिए निर्माण व्यवसायी, प्रदेश सरकारका मन्त्री र निर्माणको नियमन गर्ने अधिकारीहरूलाई रथारोहरणसहित नागरिक अभिनन्दन गर्ने घोषणा गरेको छ।