सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सरकारमा बस्ने र माफियाले गेटामा मेडिकल विश्वविद्यालय बनाउन अवरोध गरे’

२०८० असार ११, ०२:५८ खबर संवाददाता

धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुले नचाहेका कारण गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कार्यमा अवरोध सिर्जना भएको बताएका छन्। एमाले अध्यक्ष केपीशर्मा ओली प्रधामन्त्री भएका बेला गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाएको भए पनि लगत्तै सरकार ढलेपछि प्रक्रिया नै रोकिएको उनको दाबी छ।

प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले एमालेकै अगुवाईमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सर्वदलीय बैठक बसेर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएकाले खबरदारी गर्न आवश्यक रहेको बताए।

‘हामीले सर्वदलीय बैठक बसेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै क्याविनेटबाट विश्वविद्यालय निर्माण गर्ने निर्णय गरायौँ, उहाँले जनताकाबीचमा पनि त्यो कुरा भनेर जानुभयो तर नीति तथा कार्यक्रम हुँदै बजेटसम्म पुग्दा प्रतिष्ठानका रुपमा राखियो,’ भट्टले भने। भट्टले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कसैले काट्न नसक्ने भनेर भ्रम सिर्जना गरिएको बताउदै प्रतिनिधिसभाबाट क्याबिनेट भन्दा माथि रहेकाले बजेट पारित हुनासाथ सो निर्णय काटिने बताए।

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले संसदमा विश्वविद्यालय आवश्यक छैन भन्नु, कैलालीका सभापति नारायणदत्त भट्टले सोही खालको वक्तव्य दिनुले सरकारमा बस्नेहरु नै मेडिकल विश्वविद्यालय निर्माणको बाधक बनेको प्रष्ट भएको दाबी समेत गरे। ‘म कुनै व्यक्तिलाई इंगित गरेर भन्दैन्। मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरिरहेका छन्।

जसको सरकार छ उहाँहरुकै सांसदले विश्वविद्यालय चाहिदैन भन्दै सदनमा भाषण गरेको सुने,’ भट्टले भने, ‘अर्थमनत्रीले प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय उस्तै हो भनेर भन्नुभयो। यसले की उहाँलाई ज्ञान छैन की बुझ पचाएको जस्तो गर्दै हुनुहुन्छ।’ अहिले मानिसहरु स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय भनेर विभाजित भएको देखिएकाले कुनै राजनीतिक दल नभनेर एकताबद्ध भइ विश्वविद्यालय बनाउन भूमिका खेल्नुपर्ने भट्टको भनाई थियो।

भट्टले नेकपा एमाले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्नमा प्रष्ट रहेको बताउँदै सरकारले वेवास्ता गरे सदनदेखि सडकसम्म आन्दोलन चर्काउन बाध्य हुन बताए। भट्टले २०४४ सालमा शंकराचार्यले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भनेर जग्गा खरिद गरेदेखि निरन्तर आफूले नजिक भएर काम गर्ने तथा अध्ययन गर्ने मौका पाएको बताए । २०६५ सालमा आफ्नै पहलमा मेडिकल कलेजबारे अध्ययन भएको, आफ्नै अगुवाईमा कार्यकारी निर्देशक ल्याएर निर्माण कार्य अघि बढाउनेसम्मका काम भएको उनले बताए। पत्रकार सम्मेलनपछि सचिव भट्टले गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण समेत गरेका थिए।

कमेन्ट लोड गर्नुस