मन्त्री सिंहको डुङ्री घाटमा दाहसंस्कार
धनगढीः सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वीबहादुर सिंहसहित गाडी दुर्घटनामा मृत्यु भएकी उनकी पत्नी अमृता र भाउजू जया सिहंको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा दाहसंस्कार गरिएको छ।
स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोरा आदेशले दिउँसो करिब दुई बजे दागबत्ती दिए। अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो। धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंहसहित तीनै जनाको विदेशबाट आएर उनका जेठा छोराले मृत्यु भएको पाँचौँ दिन आज चैनपुरमा दाहसंस्कार गरिएको हो।
दाहसंस्कार अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो। पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली कांग्रेस तथा विभिन्न दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण, शभुेच्छुक र आफन्तहरूले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
मुख्यमन्त्री शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री सिंहको निधनले सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिमलाई अपूरणीय क्षति भएको बताए। स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा अन्त्येष्टि अघि नेपाली राष्ट्रिय झण्डा र पार्टीका तर्फबाट चार तारे झण्डा ओढाइएको थियो । स्वर्गीय मन्त्री सिंहको शवयात्रा र अन्त्येष्टिमा मानव सागर उर्लिएको थियो।