सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह सुरु

२०८० असार ९, ०४:५२ खबर संवाददाता

एजेन्सीः  रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ।

वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीले जनाएअनुसार वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा पार गरी रुस प्रवेश गरेको घोषणा गरेका छन्। हाल वाग्नर समूहका भाडाका लडाकुहरुले रुसको दक्षिणी सहर रोस्टोभ अन डोनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। प्रिगोजिनले आफ्नो बाटो रोक्न खोज्ने जो कसैलाई पनि आफ्ना लडाकुले ध्वस्त पारिदिने चेतावनी दिएका छन्।

सैन्य विद्रोह जारी रहेको रुसी भूभागका गभर्नरले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेका छन्। वाग्नर समूहले युक्रेनमा जारी रुसी आक्रमणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएको छ। यद्यपि पछिल्लो समय वाग्नर समूहका प्रमुख प्रिगोजिनले रुसी सैन्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन्।

यता, रूसी सेनाले मुलुकको सैन्य नेतृत्वविरुद्ध जारी विद्रोह गर्न रोक्न वाग्नर समूहका भाडाका लडाकुको ‘सुरक्षाको ग्यारेन्टी’ गर्ने बताएको छ। प्रिगोजिनको ‘आपराधिक उद्यम’ र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइएको भन्दै रुसी सेनाले भाडाका लडाकुलाई स्थायी तैनथीका स्थानमा फर्कन आह्वान गरेको छ। यसअघि रुसी राष्ट्रपचि भ्लादिमिर पुटिनले सैन्य विद्रोहलाई ‘धोका’ को संज्ञा दिँदै रुसको रक्षामा आफू दृढ रहेको जनाएका थिए।
 

कमेन्ट लोड गर्नुस