सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाबाट पठाइँदै नेपालको पहिलो स्याटेलाइट

। फोटो स्रोत ।
२०७६ वैशाख ४, ०४:३३

नेपालले अन्तरिक्षमा पहिलो पटक उपस्थिति जनाउँदैछ। अहिलेसम्म आफ्नो स्याटेलाइट नभएको नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागेको हो।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो। भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन। जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन। 

विश्वविद्यालयले आफ्नो ‘बर्ड–३’ परियोजना अन्तर्गत नेपाल, जापान र श्रीलंकाको ‘नानो स्याटेलाइट’ छुट्टाछुट्टै समयमा प्रक्षेपण गर्न लागेको हो। जसको संयोजन जापानको ‘ज्याक्सा’ले गर्नेछ। अन्तरिक्षको अध्ययन अनुसन्धान गर्ने अमेरिकाको नासा जस्तै जापानको ‘ज्याक्सा’ हो।

नेपाल र श्रीलंकाले पहिलोपटक स्याटेलाइट पठाउन लागेका हुन् भने जापानले दुवै स्याटेलाइटको अनुगमन र नजिकबाट निरीक्षण गर्नेछ। 

नेपाली भूउपग्रहलाई ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ नाम दिइएको छ। तीनै स्याटेलाइट ‘नानो’ अर्थात सानो क्षमताका भएका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।

नेपाली स्याटेलाइट : जापानमा बन्यो, अमेरिकाबाट उड्ने 

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नो उपस्थिति देखाउन लागेको स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा बनेको हो। अन्तरिक्ष अनुसन्धानमा निकै अगाडि बढिसकेको यो विश्वविद्यालयले भूउपग्रह निर्माणदेखि प्रक्षेपणसमेत गर्ने गरेको छ।

बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जि्नियाबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिनेछ। नासाको मुख्यालयबाट नेपाली झण्डा र नास्टको लोगो अंकित स्याटेलाइट पहिलोपटक प्रक्षेपण हुनुले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा पनि टेवा पुग्नेछ। 

यसअघि नेपालका कुनै पनि प्रविधि नासा मुख्यालयसँग जोडिएका थिएनन्। नेपालको विज्ञान तथा प्रविधिको विकासमा यो महत्वपूर्ण कोशेढुंगा हुने नास्टका वैज्ञानिकहरुको विश्वास छ। आउँदो तीन वर्षमा पूर्ण क्षमताको ‘मेगा स्याटेलाइट’ निर्माण गरेर प्रक्षेपण गर्ने महत्वाकांक्षी योजना बनाएको सरकारका लागि पनि यो ‘नानो स्याटेलाइट’ प्रक्षेपण सहकार्यको प्रस्थान बिन्दु बन्नेछ।

‘नानो स्याटेलाइट’ प्रक्षेपणपछि पनि त्यसबाट आउने सबै जानकारी जापानकै विश्वविद्यालयबाट लिनुपर्नेछ। परीक्षणका रुपमा रहने नेपाली स्याटेलाइटलाई नासाले पनि आफ्नो निगरानीमा राख्नेछ।

स्याटेलाइटबाट फाइदा के–के हुन्छ ?

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ। अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ। यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ। अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ।

नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानो स्याटेलाइट निर्माण गर्दै

यसका लागि नास्टले खुमलटारमा रहेको आफ्नो कार्यालय परिसरमा ‘ग्राउण्ड स्टेशन’ निर्माण गर्दैछ। झण्डै २० लाखको लगानीमा ग्राउण्ड स्टेशन निर्माणका लागि नास्टले बोलपत्रसमेत आह्वान गरिसकेको छ। जेठ २० गतेसम्म निर्माण गरिसक्ने उद्देश्य राखिएको स्टेशनका लागि विदेशबाट उपकरण मगाउने काम पनि भइसकेको छ।

एक महिनापछि स्याटेलाइटले पठाएका तस्बिर खुमलटारमै रहेको ग्राउण्ड स्टेशनले ‘रिसिभ’ गरेर अनुसन्धानका लागि सहयोग गर्नेछ। अहिले स्याटेलाइटले पठाएका तस्बिर जापानमा रहेको क्युटेक विश्वविद्यालयको ग्राउण्ड स्टेशन, नासाको मुख्यालयमा पनि प्राप्त हुनेछन्। 

यो स्याटेलाइटले तत्कालै तस्बिर पठाउनुबाहेक अरु काम गर्ने छैन। सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम अन्तर्रा्ष्ट्रिय स्याटेलाइटबाटै हुनेछन्। तस्बिरबाहेक नेपालको मौसमी अवस्था, पर्वतीय श्रृङ्खला, हिमनदीको अवस्थालाई अनुसन्धान गर्न पनि यसले सहयोग र्पुयाउनेछ।

यसका साथै मेगा स्याटेलाइट निर्माण, यसको प्रक्षेपण र सञ्चालनका लागि पनि न्यानो स्याटेलाइट सहयोगी बन्नेछ। बिहीबार रात अमेरिकाको भर्जि्नियाबाट प्रक्षेपण हुने नेपाली स्याटेलाइटको नासाले प्रत्यक्ष प्रसारण गर्नेछ। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस