सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा ४७ जनाले गरे देहत्याग, देहव्यापारको ‘जक्सन’ अत्तरिया

२०८० असार ८, ११:१४

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको गोदावरीमा देहत्याग डरलाग्दो रुपमा बढ्दै गएको छ। ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) का प्रहरी प्रमुख गणेश बरालका अनुसार गोदावरीका १२ वटै वडाभित्र गरी देहत्याग गर्नेको संख्या डरलाग्दो रुपमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म १२ महिना नपुग्दै २२ पुरुष र १७ महिलाले देहग्याग (आत्महत्या) गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीको तथ्यांक छ।

प्रेममा धोका, आर्थिक लेनदेन, घरायसी झै–झगडा, मानसिक समस्या लगायत कारण गोदावरी नगरपालिकाभित्र देहत्याग गर्नेको संख्या दैनिक रुपमा बढ्दो छ। प्रहरी प्रमुख बरालका अनुसार पछिल्लो समय गोदावरीमा हरेक महिना ३/४ जनाले देहत्याग गरिहेको देखिन्छ।
गोदावरीमा झुण्डिएर संसार छोड्नेको संख्या सबैभन्दा बढी छ। झुण्डिएर २२ पुरुष र १७ महिला गरी ३९ जनाले देहत्याग गरिसकेका छन्।

त्यस्तै विष सेवनबाट ५ पुरुष र ३ महिला गरी ८ जनाले देहत्याग गरेका छन्। विगतमा गोदावरीमा यसरी देहत्याग गर्नेको संख्या निकै न्युन थियो तर चालु आर्थिक वर्ष सुरु भएयता भने यस्तो संख्या डरलाग्दो रुपमा बढेको छ। विगतमा देहत्याग गर्नेमा महिलाको संख्या बढी हुने गरेको थियो भने अहिले पुरुषको संख्या उच्च देखिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म २० जना महिलाले देहत्याग गरिसकेका छन्। देहत्याग गर्ने पुरुषको संख्या भने २७ पुगेको छ। झुण्डिएर तथा विष सेवन गरेर आफुले आफैलाई मार्नेको संख्या गोदावरीमा सबैभन्दा उच्च देखिएको छ। यसरी देहत्याग गर्नेमा १२ वर्षदेखि युवा उमेरका महिला पुरुषको संख्या अधिक छ।

यस्तो समस्या गोदावरीभित्र भयावह बन्दै गएको अवस्थामा यसको रोकथामका लागि प्रहरीको एक्लो प्रयासबाट मात्र संभव नहुने भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख बरालले स्थानीय सरकार, सरोकारवाला निकाय सबैको भूमिका प्रभावकारी बन्नुपर्ने बताउँछन्।
गोदावरीमा लागुऔषध, देहव्यापार, देहत्याग, बालविवाह, बेवारिसे व्यक्ति फेला पर्ने समस्या सबैभन्दा बढी छ। ‘बालविवाहको दर गोदावरीमा निकै उच्च छ।

हामीले लागुऔषधमा संलग्न ७५ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। त्यस्तै देहव्यापारमा संलग्न ४६ जना पक्राउ परेका छन्। यस्तो स्थितिमा सबैको साथ र सहयोग अपरिहार्य देखिएको छ।’ सुदूरपश्चिम प्रदेशको प्रवेश मार्ग गोदावरी (अत्तरिया) नै भएकाले यहाँ लागुऔषध, देहव्यापार, देहत्याग, बालविवाह र बेवारिसे व्यक्ति लगायतका घटना प्रहरीमा धेरै नै आउने गरेको प्रहरीको अनुभव छ।

विशेष गरी अत्तरिया देहव्यापारका लागि जक्सनको रुपमा विकास हुँदै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। प्रहरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यौन अपराधमा संलग्न ४७ जनालाई नियन्त्रणमा लिइएको छ। साथै देहव्यापारमा संलग्न ५ महिला सञ्चालक र चार पुरुष सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस