सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड

२०७५ साउन २८, ०८:४५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ । 
यसकै आधारमा पूर्वएमाले र माओवादीका तल्ला कमिटीहरू एकीकरण गरिने नेताहरूले बताएका छन् ।
‘एउटा विधि, प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व तथा संख्यात्मक हिस्सेदारी टुंग्याउने गरी छलफल चलिरहेको छ,’ प्रदेश १ कार्यदल सदस्य भीम आचार्यले भने, ‘सकेसम्म मूल नेतृत्व पनि टुंग्याउने प्रयास गर्छौँ, टुंगिएन भने केन्द्रीय सचिवालयमा सिफारिस गर्छौँ ।’, 
कार्यदलहरूले जिल्ला र प्रदेशमा अध्यक्षलाई मूल नेतृत्व मानेर संख्यात्मक हिस्सेदारी हुने गरी एकता मोडालिटी तयार पारिरहेका छन् ।
अध्यक्ष केपी ओली र प्रचण्डले साउन मसान्तभित्र एकीकरण प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा एकीकरणसम्बन्धी छलफल तीव्र भएका छन् ।
अधिकांश कार्यदल संख्या र नामावली टुंग्याएर प्रदेश र जिल्लाका अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमा सिफारिस गर्ने तयारीमा छन् ।
 नेकपाको विधानअनुसार दुवै तहमा अध्यक्ष र सचिव मात्र पदाधिकारीका रूपमा रहनेछन् भने केन्द्रले इन्चार्ज र सहइन्चार्ज खटाउनेछ ।

कमेन्ट लोड गर्नुस