सन्तती र इष्टकुल देबताका नाममा कसम खादै दार्चुला खुला दिशामुक्त जिल्ला घोषणा
दार्चुला प्रदेश नम्बर ७ को ८ औं तथा देशकै ५० औ खुला दिशामुक्त जिल्लाका रुपमा मंगलबार घोषणा गरिएको छ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबीच दार्चुलालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन्।
खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आवश्यक सबै पूर्वाधार र सूचकांक पुगेकाले जिल्लालाई क्षेत्रीय खानेपानी तथा सरसफाइ समन्वय समितिको निर्णयअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो।
घोषणा सभामा बोल्दै मुख्यमन्त्री भट्टले खुला दिशामुक्त घोषणामात्र हैन, स्वच्छ वातावरण राख्न पहल गर्नुपर्नेमा जोड दिए। ‘हामीले खुलादिशामुक्त घोषणा गर्दैमा केहि हुँदैन, मुख्यमन्त्री भट्टले भने, हामीले टोल टोलबाट वातावरण सुधार गर्दै लैजानुपर्छ। मान्छेलाई स्वच्छ राख्नको लागि सरसफाई अनिवार्य चाहिन्छ।’ उनले जिल्लाको निरन्तर सरसफाइको विकास गर्नको लागि सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड दिए।
दार्चुलामा ०६७ सालदेखि खुला दिशामुक्त अभियान सञ्चालन भएको हो। जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न झण्डै ९ वर्ष लाग्यो। २६ हजार २६ घरधुरी रहेको दार्चुलामा २५ हजार ८ सय ४४ घरधुरीमा शौचालय निर्माण गरिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाश बहादुर रावलले बताए। घोषणा सभामा उपस्थित सबैले सन्तती र इष्टकुल देबताको नाममा कहिल्यै चर्पी बाहिर दिशा नगर्ने प्रतिबद्धता गरे।
जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा भएका कार्यक्रममा भौतिक योजना तथा पुर्बाधार मन्त्री पठानसिह बोहरा, दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य द्धय गेल्बुसिह बोहरा र मान बहादुर धामी, जिल्लास्थित स्थानिय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत आम सर्बसाधारण उपस्थिती थियो।