सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युतीकरण शुरु भएको ५ बर्ष पुगेपनि गाउँमा बत्ति पुगेन

२०७५ जेठ ३, १०:४१

दार्चुलामा ग्रामीण विद्युतीकरणको काम शुरु भएको ५ बर्ष पुगेपनि ग्रामीण क्षेत्रका जनता अध्यारोमै बस्न बाध्य छन्। केहि दिन अघि नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ मुक्त भएको घोषणा गरेपनि दार्चुलाका अधिकांश ग्रामीण भेगमा बत्ति पुगेको छैन। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष ०७०÷०७१ बाट शुरु गरेको ग्रामीण विद्युतीकरण अझै पूरा हुन नसकेको हो। नेपाल विद्युत प्राधिकरणले समयमै उपकरण उपलब्ध नगराउँदा निर्माण कार्य अहिलेसम्म पूरा हुन नसकेको वितरण केन्द्र दार्चुलाले जनाएको छ।

हाल आएर पोल र तारहरु उपलब्ध भएपनि बत्ति बाल्नको लागि आवश्यक ट्रान्सफर्मर र च्यानलहरु नआउँदा विद्युतीकरणको काम भएको ठाउँमासमेत बत्ति बाल्न नसएिको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताए। दार्चुलामा आर्थिक वर्ष ०७०÷०७१ देखि विद्युतीकरणको लागि हालसम्म ५ ओटा मात्रै ट्रान्सफर्मर आएका छन्। अहिले दार्चुलाका विभिन्न भागबाट ५० बढि ट्रान्सफर्मरको मागभई आएको छ।

विद्युतीकरण शुरु भएदेखी हालसम्म सबै ठेक्काहरुमा ट्रान्सफर्मरको अभाब हँुदा काम गर्न नसकिएको निर्माण व्यवसायीको समेत गुनासो छ। आर्थिक बर्ष २०७१÷०७२ सालमा दार्चुलाका साबिकका २४ गाविसमा विद्युतीकरण गर्ने भन्दै टेण्डर भएको थियो। च्यानल, ट्रान्सफर्मर लगायतका अत्यावश्यक उपकरणहरु प्राधिकरणले ठेकेदारलाई उपलब्ध गराउन नसक्दा निर्माण कार्य पाचँ बर्षदेखी लम्बीएको हो। नेपाल विद्युत प्राधिकरणले जिल्लाभरीका पाँच वटा गाउँपालिका, नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको लाइन पुर्याउने उद्देश्य अन्तगर्त आर्थिक वर्ष ०७०÷०७१ मा १ करोड ५० लाख, अधुरो ग्रामीण विद्युतीकरणको लागि १ करोड ५० लाख गरी ३ करोड बजेट विनियोजन गरेको थियो। 

यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ग्रामीण विद्युतीकरणको लागि १ करोड ५१ हजार तथा अधुरो ग्रामीण विद्युतीकरणको लागि २६ लाख २२ हजार बजेट विनियोजन भएको थियो। दुवै आर्थिक वर्षको ४ करोड २६ लाख ७३ हजार रुपैयाँबाट २४ गाविसमा विद्युतीकरण गर्न १७ प्याकेजमा टेण्डर आह्वान भएको हो। पछि दुइओटा टेन्डरको काम स्थगित भएर १५ टेन्डरमा कामको सम्झौता भएको थियो। त्यसपछि समेत विद्युतीकरणको क्षेत्रमा निरन्तर करोडौ बजेट विनियोजन भएको छ।

चालु आर्थीक बर्षमा मात्रै बिद्युतको क्षेत्रमा काम गर्नको लागी ५ करोड बढी बजेट विनियोजन भएको छ। टेन्डर भएको केहि क्षेत्रमा काम भएपनि बाकि क्षेत्रमा उपकरण नै नपाएपछि काममा ढिलाइ भएको वितरण केन्द्र दार्चुलाले जनाएको छ। दार्चुलाको नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिका बाहेकमा विद्युतीकरण गर्नको लागि आर्थिक वर्षमा समेत बजेट विनियोजन गरिएको छ। अहिले स्थानीय तहहरुले मार्मा गाउँपालिकाको पारिबगर, नौगाड गाउँपालिकाको जामिर लगायतका क्षेत्र तथा अन्य आवश्यक ठाउँको लागि ट्रान्सर्फमरको लागि प्रदेश सरकारलाई समेत गुहार गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए। 
 

कमेन्ट लोड गर्नुस