विद्यार्थीलाई विद्यालयमै दाल भात
यस आर्थिक वर्षबाट जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यार्थीहरुलाई विद्यालयमै दाल भात खुवाउन थालेको छ । ९ वटा स्थानीय तहका १९२ वटा प्राथमिक तहका विद्यार्थीहरुको लागि दाल भात खुवाउने कार्यक्रम लागू भएको हो ।
यसअघि पौष्टिक तत्वको रुपमा लिटो कार्यक्रम सञ्चालन हुँदै आएकोमा यस आर्थिक वर्षबाट दाल भात खुवाउने गरी कार्यक्रम रुपान्तरण भएको हो ।
झण्डै दुई दशकसम्म लिटो खुवाउँदा विद्यार्थीहरुमा नकारात्मक धारणा हुने भन्दै यस वर्षदेखि विद्यार्थी आकर्षण गर्न खाजाको रुपमा दाल भात कार्यक्रम शुरु गरिएको जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंहले बताए ।
विगतदेखि नै विशुद्ध प्राथमिक तहको पढाई भइरहेका विद्यालयमा यो कार्यक्रम लागू छ । यो कार्यक्रमबाट ६ हजार ८ सय १५ छात्र र ७ हजार ७ सय ५ छात्रा गरी कुल १४ हजार ५ सय २० जना छात्रछात्रा लाभान्वित भइरहेका छन् ।
दिवा खाजा कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी हाल ४० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र १ ग्राम नुन वितरण हुँदै आएको छ । विद्यार्थीको लागि तरकारी भने स्थानीय स्तरबाटै उपलब्ध गराउनुपर्ने छ ।