लघु जलविद्युत् बन्द हुँदा अन्धकार
जिल्लाको दुर्गम सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सातवटा लघु जलविद्युत् आयोजनामध्ये छ वटा पूर्णरुपमा बन्द भएका छन्। मर्मत सम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। २०५८ सालमा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका १० किलोवाट क्षमताको सिराडीखोला लघुजल विद्युत आयोजना, सोही बर्ष निर्माण भएको ८ किलोवाट क्षमताको बल्लेखोला लघुजल विद्युत आयोजना, त्यसको दुई बर्षपछि निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाँड लघुजलविद्युत आयोजना र २०६५ सालमा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमता भएको न्वाघरीगाड लघुजल विद्युत आयोजना अहिले बन्द रहेका छन्। सिगास गाउँपालिकाको शिवलिंगमा रहेका ४ ओटा लघुजल विद्युत आयोजनाबाट ५२ किलोवाट विद्युत उत्पादन भइरहेको थियो भने ५१२ घरधुरीले बिजुली बालीरहेका थिए। तर ती आयोजना बन्दभएपछि स्थानियबासी अन्धकारमा बस्दै आएका छन्। यस्तै सिगास गाउँपालिकाको वडा नं १ मा रहेको इरानागाड लघुजल विद्युत आयोजना पनि पूर्ण रुपमा बन्द भएका छन्।
लाखौको लगानी गरेर निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द भएपछि अहिले एकहजार बढी घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको उर्जा तथा वातावरण शाखा र विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा निर्माण भएका ती जलविद्युत आयोजनाहरु बन्द हुँदा लाखौं सामग्री नष्ट हुने अवस्थामा पुगेका छन्।
गाउँपालिकाको वडा नं ८ मा रहेका बल्लेखोला र सीराडी खोल लघुजल विद्युत आयोजनामा तार र पोल बाहेक अरु सामग्री नष्ट भईसकेका वडा अध्यक्ष कर्णबहादुर साउँदले जानकारी दिए। वडा नं ६ मा रहेका थलालीगाड लघुजलविद्युत आयोजना मर्मतका लागि ५० लाख बजेट विनियोजन गरिएको छ भने न्वाघरीगाड र न्यौलालीगाड लघुजल विद्युत आयोजना मर्मतका लागि पच्चीस पच्चीस लाख रुपैया विनियोजन गरिएको छ।
रासस