मुस्कानले छोपिएको आँसु
बाहिर हुस्सुले डेरा जमाइरहेको थियो । रुखबाट तप्पतप्प शीतका थोपा चुहिरहेका थिए । झ्यालबाट बाहिर दृष्टि फिजाइरहेकी थिइन् उनी । कैयौंपल्ट आत्महत्या गर्न खोजेको मन कुन्नि के के सोचिरहेको थियो । सीता र जानकीले प्रश्न गरेका थिए –’मम्मी तपाई किन सानैमा अर्काको घरमा काम गर्न जानु भो ? नाना नानीले किन पढाएनन् तपाईलाई ? ‘छोरीहरूको प्रश्नको उत्तर दिन सकिनन् उनले । गला अवरुध्द भयो । छातीमा भक्कानो उठ्न थाल्यो । तर पनि बल गरेर लुकाइन झर्न दिइनन् आँसुका थोपा परेलीका डीलबाट । मुसारीन छोरीहरूको कपाल । र त्यो दिन यति मात्र भनिन् –‘त्यतिबेलाको समय नै त्यस्तै थियो छोरी ।’
दुई महिना अधि धनगढीमा टिकापुर मनुवाकी तिनै गुञ्जा कठरीयाको पसलमा पु¥याएका थिए मित्र टोपेन्द्र शाह रसिकले । जहाँ स्वादिलो पराठा पाइन्थ्यो । त्यतिखेर थोरै मात्र बुझ्न पाएको थिए उनका बारेमा । यसपल्ट आउँदा त्यो ठाउँमा देखिएन उनको पसल । पत्ता लगाउँदै जाँदा थाहा भयो उनले पसल सारिसकेकी रहिछन् तारानगरस्थित सेती अञ्चल यातायात कार्यालयको छेउमा । भाइ रोशन भट्टले प्रेमपूर्वक पु¥याए उनको पसलमा । सुरुमा उनी हिचकिचाइन आफ्ना जिन्दगीका पाना पल्टाउन । उनको सरल र निर्दोषपन देख्दा लाग्थ्यो उनी भन्न खोजिरहेकी छन्–‘मजस्ता दुःखी मान्छेका बारेमा लेखेर के गर्नु हुन्छ ?’ उनको क्षणभरको मौनतालाई भङ्ग गर्दै मैले भनेँको हुँ – ‘मलाई बैनी जस्तै उद्यमीको बारेमा लेख्न मन लाग्छ । बैनीलाई कुनै अप्ठेरोमा पार्दिनँ । मैले यति भनेपछि बिस्तारै पल्टाउँदै गइन् उनी आफ्ना विगतका पानाहरु ।
हरेक मान्छेसँग हुन्छन् विगतका यादहरू । फरक यतिमात्रै हो कसैसँग सुखमय, उल्लासमय सम्झना हुन्छ विगतको । कसैसँग पूर्णरुपेण पीडामा मुछिएको विगत हुन्छ जो सम्झिन खोज्दा पनि बिझाउँछ काडाँलेझैं र घोचिरहन्छ बेलाबखत । यस्तै थियो गुञ्जाको विगत पनि ।
घरको आर्थिक स्थिति कमजोर थियो । ८ वर्षको उमेरमै पुगेकी थिइन् साहुको दैलोमा कमलरी बन्न । आँगनमा साथीहरूसँग रमाउने उमेर थियो त्यो । विद्यालयको प्राङ्गणमा पुतली जस्तै फ¥याकफुरुक गर्ने उमेर थियो । बुवाआमा अशिक्षित र आर्थिक स्थिति कमजोर भएकाले ८ वर्षकी एक अवोध बालिका बन्न पुगिन् कमलरी । जसरी छोडेर जान्छन् बैज्ञानिकहरू प्रयोगशालाका पुनः काम नलाग्ने सामग्री । उसैगरी कुन स्वार्थमा छोडे राजनीति गर्नेहरूले निर्दोषतामा बाँचिरहेका सोझा र गरिवहरूलाई । सरकारले पूर्वकमलरीहरूलाई राहत स्वरुप केही रकम बाँडेको सुनेकी हुन् उनले । पाइनन् कही कतैबाट कुनै राहत । चित्त बुझाउँछिन् र मुसुक्क मुस्कुराएर भन्छिन् – ’गुजारा चलेकै छ । लोभ, तृष्णा, मोह र दम्भ पालेर बस्नेहरूले पनि एक दिन बन्नु पर्ने हुुन्छ खरानी । जन्मिदा एक्लै आउनु पर्छ । मर्दा एक्लै जानु पर्छ भने दुई दिनको जिन्दगीमा किन चाहियो र कसैको साहारा ?‘
म निर्दोष, कर्मठ र इमान्दारहरूको प्रशंसक हुँ । मसँग छैन त्यस्तो कुनै अद्भुत क्षमता जो गुञ्जाका हरेक प्रश्नको उत्तर दिन सकुँ । मात्र ती पात्रहरूलाई धन्यवाद दिन चाहँे जसले गुञ्जालाई आत्महत्या गर्नबाट बचाए ।
बाल्यकाल कमलरी भएर बिताइन् मोतिनगर तेज बलायरको घरमा । कमलरी बनेर बसुुन्जेल उनले आमा बुवाको जस्तै माया पाइन बलायरको घरबाट । तर पनि पिँजडाको सुगाझैं बस्नु पर्दाका दिनहरू निकै नै लामा बने उनका लागि । आफुभन्दा पछाडीका तीन जना बहिनीहरू घरमै काम गर्थे । पढ्न पाएनन् तिनले पनि । आफु र बहिनीहरूले पढ्न नपाए नि भाइलाई पढाउन उनी ९ वर्षसम्म बनि नै रहिन कमलरी । एस एल सी पास गरे पछि छोडिदियो भाइले पनि पढाई । ऊ मिस्त्री बन्ने उद्देश्यकासाथ काम गर्न थाल्यो । बहिनीहरू सबैको बिहे भयो । उनको बिहे नगर्ने अडान यथावत नै थियो । उनी बारम्बार दोह¥याइरहिन् एउटै कुरा –’जिन्दगी भन्नु यस्तै हो । बिहे गरेर के नै हुन्छ र ? सोचेजस्तो लोग्ने पाइन्छ पाइँदैन् ? राम्रो हुन्छ हुँदैन ?
आखिरमा उनले शंका गरेजस्तै भयो उनको जिन्दगी । आमाबुवा बेलाबखत बिरामी परिरहन्थे । उनका बाजेससूरा गुरुवा थिए । कतिखेर मोहनी लाए । समाजमा अधिकांशले भन्न थाले –‘तैले बिहे गरेपछि मात्र तेरा आमाबुवालाई सञ्चो हुन्छ ।’ जन्मदिने बुवा आमाभन्दा ठुला अरु को नै थिए र । मनमा पीर परिर¥यो । एक मनको दोमन भैरह्यो । मनमनै सोच्न थालिन् –‘मैले बिहे नगर्दासम्म बाआमाको बिमार ठिक नहुने हो भने त बरर्वाद हुन्छ ।’ अन्तत्वगत्वा उनी राजी भइन आफुभन्दा एक वर्ष कान्छो केटासँग बिहे गर्न । त्यही मनुवा गाउँमा जन्मिन् त्यसै गाउँमा बिहे भयो । बिहे भएको वर्षदिन पछि पाइन् जुम्ल्याहा छोरी ।
घरका सबै सदस्य जाँड खनामा माहिर थिए । लोग्ने पनि कम हुने कुरै भएन । तथापि लोग्नेले अर्काको हलो जोतेर कमाउँथे दुइचार पैसा । जाँँडरक्सी मन नपराउने गुञ्जालाई घरमा सबैले हेप्न थाले । दुःख दिन थाले । बसिसक्नु भएन उनलाई त्यो घरमा । कैयौं दिनको प्रयासपछि लोग्नेलाई कन्भेन्स गरेरै छाडिन् र आइपुगे दुबैजना धनगढी । गुजरा चलाउन सानोतिनो काम पनि पाएछन् ।
हरिओम पराठा सेन्टरका मालिक देबदत्त भट्टले काम मात्र दिएनन् । बाँच्न पनि सिकाए । पराठा पकाउनेदेखि ग्राहकसँग कस्तो ब्यवहार गर्नु पर्छ । सरसफाइमा कति ध्यान पु¥याउनु पर्छ । व्यापारसँग जोडिएका धेरै कुरा सिकेकीहुन् हरिओममै । तर आफ्नै पसलको बोर्डमा लेखेको कुरा पढ्न सिकेकी छैनन् उनले । पढ्न नपाएकोमा ठुलो पछुतो छ । र त भन्छिन् –‘आफुले त पढ्न पाएन छोरीहरूलाई पढाउँछु । पढेपछि मैले जस्तो कमलरी बस्नु पर्दैन यिनलाई । मेरो जस्तो दुःख नपाउन् यिनले ।
तारानगरमा डेरा थियो । महिनाको १० हजार रुपैयाँ तलव पाउथिन् उनी । लोग्ने मन लगाएर काम नगर्ने । साहुले उनका लोग्नेको काम मन पराएनन् । दिनभर काम गरेको पैसाले साँझपख टन्न जाँड खाने उसको बनी कसैगरी छुटेन् । जाँड खाएर गाली गर्ने र कुटपिट गर्ने कार्य यथावत नै थियो । बिस्तारै शंका गर्न थालेछन् अरुसँग हाँस्दा बोल्दा । काम गर्ने ठाउँमा उनको मुस्कानले पनि बोलाउँथ्यो कैयौ ग्राहकलाई । भित्र जतिसुकै पीडा भए पनि उनले मुस्कुराउन छोडिनन् ।
३ वर्ष अघि हरिओममा काम छोडेर ऐश्वर्य बिद्यानिकेतन नजिकै सुरु गरेछन् आफ्नै पराठा पसल । स्वास्नीको कमाइ खाने बानी बसिसकेको राजुको हातबाट उभो लागेन ब्यापार । फेरि पुरानै ठाउँमा काम गर्न थालिन् उनी । लोग्नेले दुःख दिन छोडेन । साथमा दुईजना साना छोरी । लोग्नेबाट माया र सहयोग पाउनु त कता हो कता उल्टै दुःख पाउन थाले पछि कैयौंपल्ट आत्महत्या गर्न खोजिन् । आत्महत्याको सोच मनमा आउने बित्तिकै आँखामा घुम्न थाल्थ्यो सीता र जानकीको अनुहार । सम्झनामा आउँथे देबदत्त भट्टले भनेका कुरा–‘जिन्दगीमा हरेश खानु हुँदैन । आफ्नो खुट्टामा उभिन सिक्नु पर्छ । तिमीभन्दा बढी दुःख पाएका मान्छे पनि त छन् यो धर्तीमा ।’ लोग्नेसँग सम्बन्घ बिच्छेद गर्नु शिवाय अर्को विकल्प रहेन उनीसँग । उनी भन्छिन् –’अढाइ वर्ष भयो लोग्नेसँग सम्बन्ध कटप गरेको । एक्लै गएँ अदालतमा ऊ आएन । उसले अर्की बुढी ल्याइसकेको छ । उस्को परिवारसँग सम्पत्तिको नाममा जम्मा साढे एक कठ्ठा जग्गा छ । केही नलिएर छोडिदिएँ । अहिले धेरै सुखी छुँ ।‘
उनले कामगरे वापत पाएको केही पैसा जम्मा गरेर राखेकी थिइन् । केही भाइ,बैनीहरूले सहयोग गरे । वनबिभागको अफिस नजिकै धनगढीको बोराडाँडीमा ७ धुर जमिन किनिन् र ३ कोठाको सानो घर पनि बनाइसकिन् । आफन्त र छरछिमेककाले बिहे गर्न सल्लाह दिन्छन् उनलाई । तर उनको दिमागमा आउँदैन त्यो कुरा । भन्छिन् –जिन्दगीमा खुब रोएँ । मात्र दुई वर्ष भयो रुन छोडेको । मलाई अब फेरि रुनु छैन । फेरि पनि त्यही दुःखको आगो फुक्नु छैन । छोरीहरूलाई पढाउँछु, आफ्नो काम गर्छु ।’
बिहान ७ बजे देखि नै आउँछन् पराठा खानेहरू । पञ्चोदय माबिमा कक्षा ४ मा पढ्ने छोरीहरू होटलमै खान्छिन् बिहानको खाना र पुग्छिन् बिद्यालयको दैलोमा । आलु पराठा, अण्डा पराठा र सादा पराठा गरी तीन प्रकारका पराठा पाइन्छ उनको गीता खाजाघर तथा पराठा हाउसमा । उनको घरमा बोलाउने नाम हो गीता । पराठासँगै काक्रोको राइतो,गोलभेडाको चटनी र गेडागुडीको तरकारी खुवाउँछिन् । सरसफाइमा बिशेष ध्यानदिई बनाइएका मीठा परिकारका साथै गुञ्जाको ब्यबहारले तान्छ ग्राहकको मन । र त उनी भन्छिन्– ’एक पटक–पानी मात्रै पिउन आएको मान्छे पनि दोस्रोपटक पराठा खान आउँछन् मकहाँ ।‘
होटेलमा भएको बेला एफ एम सुन्छिन् । सेन्टिमेन्टल गीत सुन्न मन पराउने उनी घरमा टेलीसिरियल र पुराना फिलिम हेर्न रुचाउँछिन् । फिलिममा देखिने दुःखी पात्रको भूमिकाले भित्रैसम्म छुन्छ उनलाई । टीकापुरमा जन्मेर आजका दिनसम्म कर्णालीको पुल पनि देख्न नपाएकी उनको योजना छ, भविष्यमा छोरीहरूको साथमा केही ठाउँ घुम्न जाने ।
जिन्दगीका सारा पीडा लुकाएर मुसकुराइहने कला भएकी गुञ्जाले फर्किदा हिमालको हिउँझै टलक्क टल्केका दाँतका लहर देखाउँदै मृदमुस्कान छरेर भनेकी हुन् – ‘फेकुन फेकुन आइयो’ (फेरिफेरि आउनु होला ) ।