सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा नदीको सतह बढ्यो

२०७५ असार १५, १०:२२

भारत पिथौरागढको धौलीगंगा जलविद्युतको आयोजनाको ड्याम खोलिएपछि महाकाली नदीमा पानीको सतह बढेको छ। शुक्रबार बेलुकी सवा ६ बजेदेखि राती १२ बजेसम्म ड्यामको पानी खोलिएको धौलीगंगा जलविद्युत आयोजनाले जनाएको छ।
माथिल्लो क्षेत्रमा गएरातीबाट निरन्तर वर्षा भएपछि भारतीय पक्षले ड्यामको पानी खोलेको हो। ०७० सालमा धौलीगंगा जलविद्युत आयोजनाको ड्याम फुटेपछि दार्चुला र धारचुला क्षति भएको थियो। सोहि घट्ना नदोहोरिदिन समयमै ड्यामको दुई वटा ढोका खोलिएको भारतीय पक्षले जनाएको छ।


तीन मिलियन क्यूफिट पानी जम्न सक्ने क्षमता रहेको धौलीगंगा आयोजनाको दुई वटा ढोकाबाट ८० सिएम देखि १ सय सिएम सँग पानी खोलिएको छ। पुरै ड्याम खाली गर्ने गरी पानी छोडिने भारतीय पक्षले जनाएको जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले बताए। पुरै ड्याम खोलिएपछि नदीमा थप २ मिटर पानी बढ्ने छ।

२८० मेगावट क्षमताको धौलीगंगा जलविद्युत आयोजना दार्चुला सदरमुकाम खलंगा भन्दा २५ किलोमिटर उत्तर छ। निरन्तर पानीको कारण जलविद्युत आयोजनाको बन्द गरिएको ढोकाको मेसिन फुट्ने खतरा देखिएपछि पानी खोल्नु परेको भारतीय पक्षलाई उद्दृत गर्दै डिएसपी अधिकारीले बताए। नदीमा पानीको सतह बढेपछि दार्चुला र धारचुलामा प्रहरीले माइकिङ गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दार्चुलाका नदी किनारका स्थानीयलाई नदी किनारमा जानबाट रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। सबै क्षेत्रमा सूचना प्रवाह गरी सतर्कता अपनाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए। जिल्लस्थित सबै सञ्चार माध्यमलाई सन्देश प्रसारण गर्न भनिएको छ।
०७० सालको बाढिले सदरमुकाम खलंगा तहसनहस गरेको कारण स्थानीयमा त्रास कायमै रहेको स्थानीय विनोद भटट्ले बताए। अहिले पनि पानीको सतह बढेपछि स्थानीय रातभर जाग्रम बस्ने गरेका छन्। 
कमेन्ट लोड गर्नुस