बझाङमा फेरि खोलाले बगाउँदा तीनको मृत्यु दुई वेपत्ता

बझाङको थलारा गाँउपालिका वडा नम्वर ४ नजिकै रहेको खहरे खोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने २ जना बालक बेपत्ता भएका छन् । मृत्यु हुनेमा थलारा गाँपालिका–४ का २८ बर्षिया हर्क विक, हर्क विककी श्रीमती २५ बर्षिया डल्लीदेवी विक र वडा नम्वर ४ कै कलशा विक रहेका छन् । स्थानीय बजार ढोड्य खेतवाट घर फर्कने आउने क्रममा गाँउको विचमा भएर बग्ने गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । शनिबार राती करिब ८ बजेतिर परेको अविरल बर्षाका कारण खहरे खोलामा वाढी आउँदा उनीहरुलाई बगाएको हो ।
यस्तै उक्त खोलाले बगाएर मृतक हर्क विककी ७ बर्षिया छोरी मनिशा विक र ४ बर्षिया छोरा सक्षम विक बेपत्ता भएका छन् । खहरे खोलाले बगाएका ३ जना हर्क विक उहाँकी श्रीमती डल्ली देवी विक र सोही गाँउकै कलशा विकको शव फेला परेको छ भने बालकहरुको खोजी कार्य भईरहेको जनाईएको छ । अहिले घटनास्थल तर्फ ईलाका प्रहरी चौकी थलाराबाट प्रहरीको टोली गईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै थलारा गाँउपालिकाका अध्यक्ष भवनेश्वर सहितको टोली समेत घटनास्थल तर्फ गईरहेको अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । अविरल बर्षका कारण १९ गते जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा पनि खहरे खोलाले से १ ज ८२० नम्वरको जिप बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।




