बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन्
मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भएपनि हालसम्म वितरण नभएको हो । चौमासिकरुपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालू आर्थिक शुरु भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्ति, एकल महिला तथा वृद्धवृद्धालाई निकै समस्या भएको छ ।
१० महिना भइसक्दासमेत दोगडाकेदार गाउँपालिकाले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा तीन हजार ६०० बढी लाभग्राही निराश बनेका हुन्। सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई निकै दुःख लागेको दोगडाकेदार गाउँपालिका–६ का हरिसिंह ऐरीले बताए। जनप्रतिनिधि आइसकेपछि सबै सेवासुविधा छिटो, छरितो पाउने आशामा रहेका नागरिकमा निराशा छाएको छ। सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ। साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिए।
गाउँपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाइसकेको उनले बताए। अर्थ मन्त्रालयबाट रकम स्वीकृत भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट स्वीकृत हुने प्रक्रियामा रहेको केही दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण हुने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। मन्त्रालयले एक दुई दिनमै गाउँपालिकाको खातामा रकम हाल्ने खबर आएको उनँले बताए। दोगडाकेदारमा एक चौमासिकका लागि एक करोड ८५ लाख रकम आवश्यक पर्ने भएपनि हालसम्म दुई चौमासिक भन्दा बढी भइसक्दासमेत एक करोड पाँच लाख मात्रै मन्त्रालयले पठाएको गाउँपालिका अध्यक्ष कार्कीले बताए। दोगडाकेदार गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने तीन हजार ६८४ नागरिक रहेका छन् ।
रासस