सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेतुवा तालको अतिक्रमण हटाउन सुरु (भिडियो रिर्पोट)

२०७५ वैशाख १७, ०४:३८

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगर स्थित नेतुवा तालको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ। लामो समयदेखी अतक्रिमणको चपेटामा परेको ताल क्षेत्रको जग्गाको अतिक्रमण हटाउने कार्य सोमवारदेखी सुरु गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादूर ऐरले बताए। स्थानिय वासिन्दा र वडा कार्यालयका पदाधिकारीहरुको अगुवाईमा धनगढी उपमहानगरपालिकाको खोला नाला तथा सार्वजनिक जग्गा हटाउ समितिले ताल क्षेत्रको जग्गामा रेखांकन गरी घेरबार गर्ने कार्य सुरु गरिएको उनले बताए। तर अहिले हाल साविक नापी अनुसारको मात्रै अतिक्रमण हटाईएकोमा स्थानिय वासिन्दाले २०२१ सालको नापी अनुसार नै ताल क्षेत्रको जग्गा संरक्षण गर्न माग गरेका छन्। 

करिव ४५ कट्टा क्षेत्रफलमा फैलिएको नेतुवा तालमा हालसाविक नक्सा अनुसार झण्डै १५ कट्टा जग्गा अतिक्रमण भएकोमा स्थानिय वासिन्दा र वडा कार्यालयका पदाधिकारीहरुको अगुवाईमा धनगढी उपमहानगरपालिकाको खोला नाला तथा सार्वजनिक जग्गा हटाउ समितिले रेखांकन गर्दै घेरबार गर्ने कार्य सुरु गरेको हो। हाल साविक नक्सा अनुसार बिशालनगरको नेतुवा तालको झण्डै १५ कट्टा जमिन अतिक्रमण भएको छ तर २०२१ सालको नक्सा अनुसार थप १५ कट्टा गरी ढाई बिगाह भन्दा बढी ताल क्षेत्रको जग्गा अतिक्रमण भएकोले २१ सालको नापीको नक्सा अनुसार अतिक्रमण हटाउन स्थानियले माग गरेका छन्। 

हालसाविक नक्सा अनुसार मात्रै रेखांकन गर्न थालेपछि २१ सालको नक्सा अनुसार रेखांकन गर्न माग गरेका स्थानिय वासिन्दा र अतिक्रमण हटाउ समितिका पदाधिकारीबिच विवाद चलेको थियो। स्थानिय वासिन्दाले पुरानै नक्सा अनुसार नेतुवा तालको अतिक्रमीत जग्गा खाली गर्नुपर्ने अडान लिएपछि वडा कार्यालयले अतिक्रमीत जग्गा हटाउ समिति र स्थानियको रोहबरमा २१ सालको नक्सा अनुसार नै अतिक्रमण हटाउन प्रक्रिया अगाडी बढाउने लिखित निर्णय त गरेको छ तर यो निर्णय कार्यान्नयन हुनेमा भने स्वम वडा अध्यक्ष ऐर नै विस्वस्त देखिदैनन्।

नेतुवा ताल क्षेत्रको जग्गा कब्जा गरेका केहि व्यक्तीले हालसाविक नापी अनुसार लालपुर्जा समेत लिईसकेका छन्। ताल क्षेत्रको झण्डै १५ कट्टा जमिन कब्जा गरेका उनिहरुले पहुच र शक्तीका भरमा लालपुर्जा लिईसकेकाले उनिहरुलाई हटाउन कानुनी आधार कमजोर छ। तर भर्खरै पोखराको फेवा ताल क्षेत्रको यस्तै जग्गामा वितरण भएको लालपुर्जा खारेज हुने निर्णय भएका कारण धनगढीको नेतुवा तालको अतिक्रमीत जग्गा पनि खाली गराउने दावी गरिएको हो। नेतुवा ताल क्षेत्रको जमिन संरक्षण गरी त्यहाँ वाटर पार्क बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ। वाटर पार्क निमार्णका लागि साढे ७ करोड रकम बिनियोजन भएको वडाअध्यक्ष ऐरले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस