नगर विकास समिति धनगढीका सटरहरु भाडामा दिन रिटेन्डर गरिने
धनगढी नगर विकास समितिले आफ्ना भवन तथा सटरहरु खाली गर्न दिएको सुचनाको अबज्ञा भएको छ। बर्षाैदेखी भाडा नतिरेर बसिरहेको बिभिन्न संघ संस्था तथा व्यापार व्यवसायीहरुलाई १५ दिनभित्र भवन तथा सटर खाली गर्न पत्राचार गरिएपनि त्यसको अबज्ञा भएको हो। १५ दिने सूचनाको म्याद सकिएपनि हालसम्म एक जनाले पनि नगर विकास समितिको सटर खाली गरेका छैनन्। आफ्नो मातहतमा रहका भवन तथा सटरहरुमा पुनः बोलपत्र आब्हान गरी भाडामा लगाउने तयारी नगर विकास समितिले गरिरहेको छ।
नगर विकास समितिका भवन, सटर तथा जग्गा कब्जा गरेर बसेकाहरुलाई १५ दिने सूचना जारी गरि खाली गर्न निर्दशन दिईएको थियो। तर उक्त १५ दिने म्याद सकिदा सम्म एक जनाले पनि निर्देशनको पालना नगरेको नगर विकास समितिका अध्यक्ष छत्र साहीले बताए।
‘हामीले दुई पटक पत्र पठाउदै १५ दिनभित्र सटर तथा भवनहरु खाली गर्न निर्देशन दिएका छौ तर त्यसको पालना भएको छैन तर अब जसरी पनि रिटेन्डर गरिनेछ।’ साहीले भने।
केहि समय अघी नगर विकास समितिले आफ्नो मातहतमा रहेका सम्पत्तीहरुको खोजी गर्न र कब्जा गरेर भाडा समेत नतिरि बसेकाहरुलाई हटाउन भन्दै रोम स्वारको नेतृत्वमा उप समिति गठन गरेको थियो। उक्त समितिले नगरभरी रहेका आफ्ना संरचना तथा सम्पत्तीहरुको बारेमा जाँचबुझ गरी हालसम्म भाडा नतिरि बसेकाहरुको लगत तयार पारेको थियो। सोहि अनुसार १५ दिने सूचना सहित खाली गर्न पत्राचार गरिएकोमा एक जनाले पनि निर्देशनको पालना नगरेका हुन्। तर अब जसरी पनि पुनः बोलपत्र आव्हान गरेर भवन, सटर तथा जग्गाको नयाँ भाडादर कायम गराउने तयारी नगर विकास समितिले गरेको छ।
यस अघि बोलपत्र आब्हान नगरेरै भाडामा दिएको भन्दै बिरोध भएपछि धनगढीको नेपाल बालसंगठनले पुनः बोलपत्र आब्हान गरेको थियो। तर बिभिन्न पक्षको मिलेमतोमा उक्त भवनको सटरमा बसिरहेका व्यापारीहरु सबैले आफुले उपयोग गरिरहेकै सटर पाए भने बाहिरका एक जना व्यक्तीको पनि टेन्डर स्वीकृत भएको थिएन्। अहिले नगर विकास समितिले पुनः टेन्डर गर्ने दावी त गरेको छ तर उसले पनि मिलेमतोमा बसिरहेकै व्यापारीहरुलाई सटर दिनेछ अथवा खुला प्रतिस्पर्धा गराउनेछ त्यो भने हेर्न बाँकी छ।