नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य
बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् ।
गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताए। तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् ।
आफूहरुलाई खानेपानीको निकै सकस भएको स्थानीयवासी जयन्ती बुडालले बताए।। उनले भने, “महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।”
महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाँडाकुँडासमेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् ।
आफूहरु वर्षौंदेखि दूषित पानी प्रयोग गर्दै आइरहेको र अहिलेसम्म कसैले समस्या समाधान नगरेको स्थानीयवासी नारु बोहराले बताए।
निर्वाचनका बेला सबै राजनीतिक दलले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि कसैले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको स्थानीयवासीको गुनासो छ ।
महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताए। आफूहरुले सरोकारवालासँग पटक पटक आग्रह गरे पनि केही पहल नभएको स्थानीयवासीको गुनासो छ ।
नगरपालिकाका बासिन्दा भएर पनि आफूहरुलाई नगरवासीको अनुभूति हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाले बताएका छन् । दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणसमेत देखिने गरेका छन् ।
रासस