सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

२०७५ वैशाख १३, ११:००

गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन्। केही समय देखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन्। बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन्।

केही वर्ष यतादेखि डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले बताए। जंगलमा जथाभावी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले मुहानक्षेत्रको भू–भाग कम्पनका कारण प्रभाव पर्दा पानीका मूलमा असरपरी सुक्न थालेको विशेषज्ञहरु बताउँछन्। डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन्। केही वर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ।

सधैँ पानी हुने नौला कुवामा समेत पानी कमभई गाउँमै पानीको समस्या उत्पन्न भएको सुनकोटका स्थानीय लक्ष्मी विकले बताईन। खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ। खानेपानीको अभावसँगै स्थानीय बासिन्दा घण्टौँको दूरीबाट खानेपानी ल्याएर खान बाध्य भएका छन्। समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।
रासस
 

कमेन्ट लोड गर्नुस