उद्योग वाणिज्य संघको चुनावी सरगर्मीः तीन पुर्व अध्यक्षहरुको समर्थनमा पुष्पराज कुँवर नेतृत्वको प्यानल घोषणा (भिडियो रिर्पोट)
कैलाली उद्योग वाणिज्य संघको आगामी बैशाख २१ गते हुने निर्वाचनका लागि पुष्पराज कुँवरको नेतृवको प्यानल घोषणा गरिएको छ । तीन पुर्व अध्यक्षहरु गोपाल हमाल, दिनेशराज भण्डारी र कर्ण कुँवरको समर्थनमा वर्तमान कार्य समितिका कोषाध्यक्ष समेत रहेका कुँवरको नेतृत्वको प्यानल घोषणा गरिएको हो ।
प्यानलको वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यमा गगन केसी, उपाध्यक्ष बस्तुगतमा शिव कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा शिद्धराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्साल रहेका छन् ।
सदस्यहरुमा मनोज अग्रवाल, केशवराज जोशी, टोपबहादुर केसी, शिव सापकोटा, मिलन कुँवर, तिलक खतिवडा, सुरेन्द्र बोहरा, लक्ष्मणराज पन्त र धनबहादुर चौधरी रहेका छ । एक जना महिला सहित २ सदस्यको भने टुंगो लाग्न बाँकी छ । घोषणा सभामा अध्यक्षका उम्मेदवार कुँवरले ९ वँुदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन ।
विहीवार आयोजित प्यानल घोषणा सभामा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा भातरसँंग जोडने गौरीफन्टा नाका र चीनसँग जोडने ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाका बनाउन पहल गर्ने प्रमुख एजेण्डा राखिएको छ भने चुनाव जितेर गएपछि बस्ने पहिलो कार्य समितिको बैठकबाट अहिले विकृतिको रुपमा रहेका गैर सदस्यहरुलाई खारेज गर्ने प्रतिबद्धता पनि जनाईएको छ । प्यानल घोषणा सभामा आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार पुष्पराज कुँवरले चुनाव जितेपछि बस्ने पहिलो कार्य समितिको बैठकबाटै फर्जी व्यवसायीहरुको दर्ता खारेज गर्ने बताए ।
यसअघि धुव्रीकरण भएका व्यवसायीका नेताहरुले यस पटक कैलाली उद्योग वाणिज्य संघलाई फेरि पुरानै गरिमामा फर्काउने प्रण गर्दै पुष्पराज कुँवर नेतृत्वको प्यानल खडा गरेका हुन । अब व्यवसायिक नेताहरु विच एकता नभएसम्म कैलाली उद्योग वाणिज्य संघ अगाडी बढ्न नसक्ने भएकोले सबैले मिलेर जानुपर्ने कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कर्णवहादूर कुँवरले बताए ।
केह बर्षयता कैलाली उद्योग वाणिज्य संघमा फर्जी व्यवसाय दर्ता गरेर वनेका नक्कली मतदाताबाट पदाधिकारीहरु चुनिने गरेका कारण सक्कली व्यवसायीहरु अल्पमतमा परेका छन । यसपटक पनि चुनाव प्रभावित पार्न झण्डै ९ सय नक्कली फर्म दर्ता भएका छन । तर यसरी दर्ता भएका सबै नक्कली फर्महरुलाई उद्योग वाणिज्य संघको सदस्यतावाट खारेज गर्ने प्रतिवद्धता जनाएपछि पुष्पराज कुँवर नेतृत्वको प्यानललाई पुर्व अध्यक्षहरुले समर्थन गरेका हुन । कैलाली उद्योग बाणीज्य संघबाट फर्जी मतदाता हटाई साच्चिकै व्यवसायीको संस्था बनाए मात्रै यसको गरिमा बढ्ने पुर्व अध्यक्ष गोपाल हमालले बताए ।
विगतमा सुन्दर सुदूरपश्चिम अभियान चलाएर चर्चामा आएको कैलाली उद्योग वाणिज्य संघले एयरपोर्ट कालोपत्रेका लागि थालेको अभियानका कारण पनि राष्ट्रिय स्तरमै प्रशंसा कमाएको थियो । त्यति बेला देशभरिमै सर्वाेत्कृष्ट अवार्ड समेत पाएको कैलाली उद्योग वाणिज्य संघ पछिल्ला बर्षयता बर्षमा एक पटक महोत्सव चलाउने काममा मात्रै सिमित भयो । तर अब सबै व्यवसायीहरु एकजुट भएर उद्योग वाणिज्य संघलाई फेरि पुरानै अवस्थामा फर्काउनका लागि कुँवर नेतृत्वको प्यानललाई सहयोग गरेको अर्का पुर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए ।
प्यानल घोषणा सभामा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजेश भण्डारीले पनि बोेलेका थिए । उनीहरु सबैले व्यवसायिक नेताहरु एक भएर जानुपर्ने र अझै पनि चुनाव गर्नुभन्दा सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा राखेका थिए । उद्योग वाणिज्य संघमा वर्तमान महासचिव रुपेश स्वाँरको नेतृत्वमा छुट्टै प्यानल घोषणा हुने तयारी पनि भईरहेको छ ।