अन्धाधुन्द निर्माण भएका सडकका कारण पहिरो जाँदै (फोटो फिचर सहित)
विकासले निम्त्याएको विनास
स्थानीय तहले वातावरणीय प्रभाव मुल्याङकन नगरी सडक निर्माण गरेपछि पहिरो जान थालेको छ । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि दार्चुलाका कुनै पनि स्थानीय तहले उक्त मापदण्ड अनुसार सडक निर्माण गरेका छैनन् । जिल्लाका ७ स्थानीय तहले यो वर्ष मात्रै ४४ सडक निर्माण गरेका छन् ।
बिहीबार रातीबाट शुरु भएको वर्षाका कारणले ठाउँ ठाउँमा पहिरो गएको छ । स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालेका छन् । सडकको कारण नौगाड गाउँपालिकाको विभिन्न क्षेत्रमा पहिरो आएको छ । नौगाड गाउँपालिका ३ खार क्षेत्रमा त आधा दर्जन घर जोखिममा परेका छन् ।
यस्तै सिप्टी जाने सडकहरुमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । यस्तै १३ सडक निर्माणको योजना बनाएको शैल्यशिखर नगरपालिकाले १० सडकको निर्माण कार्य चालु आर्थिक वर्षबाट सुरु गरेको छ । शैल्यशिखरको निर्माणाधीन बगोरा–आगर सडकले सिंँचाइ नहर र सो क्षेत्रमा रहेको पानीको मुहानमा असर पुगेको स्थानीयले जनाएका छन ।
१५ लाखको सडकले करोड बढी लागतमा निर्माण गरिएको खानेपानीको लाइनमा क्षति पुगाएको ग्वानीका स्थानीय इन्द्रसिंह साउदले बताए । यस्तै मालिकार्जुन गाउँपालिकाले ११ मध्ये ६ सडकको चालु आर्थिक बर्षबाटै निर्माण सुरु गरेको छ । ऐरिछना सडक निर्माणका कारण उक्त क्षेत्रमा पहिरो जाने र महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध हुने सम्भावना बढेको छ ।
मालिकार्जुन गाउँपालिका ७ जौलजिवीमा सडक निर्माणले गाउँ नै जोखिममा परेका छन् । यस्तै, महाकाली नगरपालिकाले ६, मार्माले ४, दुहुले २ र लेकम गाउँपालिकाले एक सडकको यो वर्षबाट निर्माण सुरु गरेका छन । यति धेरै सडकको वातारणीय प्रभाव अध्ययन नगरी कार्यान्वयन गरिरहेकाले विकासको सट्टा विनाश निम्त्याउने खतरा बढेको छ ।