टीकापुरका दुई युवा नर्सरी स्थापना गरी टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै (भिडियो रिर्पोट)
तीन दिनको तालिमले फेरेको जीन्दगी
कैलाली र कञ्चनपुर केरा खेतीको प्रचुर सम्भावना बोकेका जिल्ला हुन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि दुवै जिल्लामा यसतर्फ किसानहरुको आकर्षण बढ्दो छ तर विऊ अभावका कारण अपेक्षा गरे अनुसार केराखेती फस्टाउन सकिरहेको छैन् भने यहाँका केरा किसानले बाहिर जिल्लाबाट केराको वेर्ना ल्याएर लगाउदै आएका छन् । केरा किसानले बाहिर जिल्लाबाट विऊ ल्याएर खेती गर्नुपर्ने बाध्यता हटाउने लक्ष्य सहित टीकापुरका दुईजना युवा केरा व्यवसायी टेकेन्द्र धामी र देवी प्रसाद कोइराला टिस्यु कल्चर प्रविधिबाट वेर्ना उत्पादन गर्न थालेका छन्।
७ वर्ष पहिले समान्य केराखेतीबाट केरा व्यवसायमा लाग्नुभएका टीकापुर नगरपालिका वडा नम्बर २ बागमाराका टेकेन्द्र धामी र उहाँका सहकर्मी देवी प्रसाद कोइराला टिस्यु कल्चर प्रविधिबाट केराको वेर्ना उत्पादन गरिरहेका हुन् । भारतको गुजरातको अहमदाबादमा गत चैतमा एबिसी नामक वायो टेक्नोलोजी संस्थाबाट टिस्यु कल्चर प्रविधि सम्बन्धी समान्य तालिम पछि दुवै जनाले फलफूल नर्सरी सञ्चालन गरेर उक्त प्रविधिबाट केराको वेर्ना उत्पादन गरिरहेका हुन् । जी सेभन नामक कम्पनीको प्राविधिक सहयोगमा करिब साढे ३ कठ्ठा जमिनमा स्थापना गरिएको नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोकर निर्माणमा साढे ८ लाखको लगानी लागिसकेको छ।
नर्सरीबाट टिस्यु कल्चर प्रविधिबाट जिनाइन र विलेयम जातको केराको वेर्नाको आलावा कागती र अनारका वेर्ना पनि उत्पादन भइरहेका छन् । विशेष किसिमको ल्याबबाट तन्तु प्रजनन् गरेर विरुवा निकाल्ने यो प्रविधि सुरु गरेदेखी नर्सरीबाट केरा र कागतीका ७१ हजार विरुवा बिक्रि गरिसकिएको छ । कैलाली र कञ्चनपुरमा केराको वेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफुहरुले टिस्यु कल्चर प्रविधिबाट वेर्ना उत्पादन थालेको धामीले बताए । टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता हुने हुदा रोपेपछि बोट पहिलो हुदै जाने, गुवो कुहिने र बोट सुक्दै जाने लगायतका रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत बृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको छ । नर्सरीले उत्पादन गरिरहेको विलयम र जिनाईल जातका केरा, कम समयमा कम लगानीमा धेरै उत्पादन हुने गरेको कृर्षी विज्ञहरु बताउछन् । यस्ता जातका केराको वेर्ना स्थानीय स्तरमै उत्पादन हुनु सुखद कुरा भएपनि सरकारी पक्षबाट भने आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा खासै सहयोग पुगेको देखिदैन्।
व्यवसायी धामीले नर्सरी सञ्चालनमा रानी जमरा कुलरिया सिचाई आयोजना अन्र्तगतको केरा खेती सम्बन्धीको कृषि प्रोजेक्टले तालिम र वेर्ना खरिदमा सहयोग गरेपनि स्थानीय सरकारले भने कुनै किसिमको सहयोग प्राप्त नभएको बताए । कृषिमा आधुनिकरणको नारा लागिरहेका बेला प्रविधियुक्त नर्सरीबाट केराका विऊ उत्पादन गरेर कैलाली र कञ्चनपुरलाई विऊको परनिर्भरताबाट मुक्त गराउन सक्रिय भएका टीकापुरका युवा केरा व्यवसायी टेकेन्द्र धामी र देवी प्रसाद कोइरालाको कदम स्वागत योग्य र सम्मानजनक छ । त्यसैले यस्ता व्यक्तिलाई राज्य स्तरबाट पनि सहयोग हुनुपर्छ।