ग्रामीण क्षेत्रमा व्यवसायिक बाख्रापालन अर्थतन्त्रको प्रमुख आधार बन्दै
बाख्रा विकास फार्म र श्रोत केन्द्रहरुले माग अनुसारको उत्पादन गर्न सकेनन्
प्रदेश नम्वर ७ का ग्रामीण क्षेत्रमा व्यवसायिक बाख्रापालन अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ । तर प्रदेशभरी मागको २५ प्रतिशत पनि बाख्रा उत्पादन भने गर्न सकिएको छैन् । साढे तीन दशक अगाडी स्थापना गरिएको बाख्रा विकास फार्म र त्यसपछि स्थापना भएका सामुदायिक बाख्रा स्रोत केन्द्रहरुले माग अनुसारको उत्पादन गर्न सकेका छैनन् । बाख्राको प्रवद्र्धन, विकास र जात संरक्षणका लागि झण्डै साढे तीन दशक अगाडी स्थापना गरिएको बाख्रा विकास फार्म बढुीतोला र त्यसपछि स्थापना गरिएका सामुदायिक बाख्रा स्रोत केन्द्रहरुले ग्रामीण क्षेत्रका धेरै किसानहरुलाई स्वरोजगार त बनाएको छ तर आफ्नो लक्ष्य भने पुरा गर्न सकेको छैन् । बाख्रा विकास फार्मका प्रमुख श्याम खड्काका अनुसार अहिले बाख्रा विकास फार्म बुढीतोलमा मात्रै ६२ वटा बोयर र बाँकी ३ सय ९७ वटा खरी जातका बाख्राहरु पालिएको छ ।
झण्डै एक सय बाख्रा राखेर २०४० सालमा स्थापना गरिएको बाख्रा विकास फार्मले साढे तीन दशक सम्म अपेक्षाकृत रुपमा प्रगति गर्न नसेको हो । केन्द्रिय पशुपन्छी मन्त्रालय अन्तरगतको बाख्रा विकास फार्म बुढीतोलाको मातहतमा काम गर्ने चार वटा सामुदायीक श्रोत केन्द्र पनि छन् । कैलालीको चौमला र सहजपुरमा पहिले नै स्थापना गरिएकोमा डडेल्धुरा र डोटीमा भने भर्खरै थप २ वटा श्रोत केन्द्र सञ्चालन गरिएको छ । बाख्रा विकास फार्म र चार वटा सामुदायिक श्रोत केन्द्रले बार्षिक चार हजार बाख्राहरु विक्री गर्दै आएका छन् । श्रोत केन्द्रमा आवद्ध झण्डै २ सय जनाले पनि बार्षिक २ लाख सम्म आम्दानी गर्दै आएका छन् । तर प्रदेशका ९ वटै जिल्लामा श्रोत केन्द्र स्थापना नहुँदा प्रदेश नम्वर ७ लाई मासुमा आत्मनिर्भर बनाउन पनि समस्या भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखाका प्रमुख यज्ञराज जोशीले फार्मलाई सुधार गनै सुझाव दिईएको बताए ।
बाख्रापालन ग्रामिण तथा दुर्गम क्षेत्रको अर्थोपार्जनको एक प्रमुख आधार हो । प्रदेश नम्वर ७ मा कृषि क्षेत्रमा संलग्न किसानहरु मध्ये झण्डै ६० प्रतिशत घरपरिवार बाख्रापालन क्षेत्रमा आवद्ध रहेको सरकारी तथ्यांक छ । हिमाल देखी तराई सम्म पालन गर्न सकिने र बजारको संभावना पनि राम्रो भएकाले बाख्रापालन ग्रामीण क्षेत्रको अर्थोपार्जन गर्ने प्रमुख माध्यम बनेको हो । तर अहिले प्रदेश नम्वर ७ मा मागको २५ प्रतिशत मात्रै पुर्ति भईरहेको पनि एक तथ्याङकले देखाएको छ । बाख्रा विकास फार्मले भने अहिले पनि पुर्वको रामेछापसम्म बाख्रा विक्री वितरण गरिरहेको जनाएको छ । जीवनशैलीमा आएको परिवर्तन, बढ्दो शहरिकरण, पोषण सम्बन्धी चेतनाको कारण बाख्राको मासुको माग बढ्दै गएको छ । प्रदेश नम्वर ७ का पहाडी तथा मध्ये पहाडी क्षेत्रमा बाख्रापालनको अत्याधिक संम्भावना रहेकाले आयआर्जन तथा रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरण तथा खाद्य सुरक्षाका हिसाबले व्यवसायिक बाख्रापालन राम्रो क्षेत्र हो । त्यसका लागि सरकारी स्तरको बाख्रा विकास फार्मले बाख्राको प्रवद्धन, विकास र जात संरक्षणका लागि भुमिका फराकिलो पार्न जरुरी छ भने समुदाय स्तरमा बाख्रा श्रोत केन्द्र बढाउन पर्ने अवस्था पनि छ । प्रत्येक बर्ष २५ प्रतिशतका दरले बाख्राको उत्पादन बढाउन सके प्रदेश नम्वर ७ लाई अवको तीन बर्षभित्रै मासुमा आत्मनिर्भर बनाउन सकिने दावी बाख्रा विकास फार्मको छ । यो बर्षभित्रै १० वटा सामुदायिक बाख्रा श्रोत केन्द्र पनि स्थापना गर्ने लक्ष्य राखिएको छ ।