१० करोडको लगानीमा अत्याधुनिक शित भण्डार गृह निर्माणको लागि आवश्यक काम सुरु (भिडियो रिर्पोट सहित)
असोजदेखि निर्माण सुरु गर्ने तयारी
कैलालीको फुलवारीमा १० करोडको लगानीमा शित भण्डार गृह निर्माणको लागि आवश्यक काम सुरु भएको छ । शघन शहरी विकास कार्यक्रम अन्तर्गतको शित भण्डार गृह धनगढी उपमहानगरपालिका– १८ मा १० कठ्ठा क्षेत्रफलमा निर्माणको लागि आवश्यक प्रक्रिया सुरु भएको छ । दुई वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा तराईका मुख्य मुख्य शहरमा सुरु गरिएको शघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा शित भण्डार वन्न लागेको हो । देशभरका २० वटा शहरमा यो कार्यक्रम लागु भएकोमा स्थानीय आवश्यकता अनुसार कैलालीको धनगढी र सप्तरीको राजविराम जिल्लामा शित भण्डार निर्माण हुन् लागेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा दुई वर्ष अघि सुरु भएको कार्यक्रम सुरुमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर विना नै लागु भएकोले परामर्शदाता कम्पनीलाई डिपिआर वनाउन दिएकोले कार्यान्वयनमा ढिलो गरी गएको हो । धनगढी उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामलाल श्रेष्ठको पालामा शित भण्डार गृहको सिफारिस भएको थियो ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले कार्यान्वयन गर्ने गरी कार्यक्रम स्वीकृत भएकोले शित भण्डार निर्माण गरिन लागेको हो । कञ्चनपुरको महेन्द्रनगरमा रहेको शित भण्डारभन्दा पनि अत्याधुनिक सुविधा सहितको शित भण्डार निर्माणका लागि आज खोलिएको टेण्डरको प्रक्रिया पुरा भएपछि असोजदेखि निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । शित भण्डार गृह निर्माणका लागि आज टेण्डर खोलिएपछि प्राविधिक प्रस्तावको मुल्यांकन र आर्थिक प्रस्तावको मुल्यांकनपछि निर्माण कम्पनी छनोट गरिनेछ । सवै प्रक्रिया पुरा गर्नका लागि झण्डै दुई महिनाको समय लाग्ने भएकोले असोजको पहिलो सातादेखि निर्माणको काम अगाडी वढ्नेछ ।
शघन शहरी विकास आयोजना अन्तर्गतको एक शहर, एक पहिचान कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्वर १८ को फुलवारीमा शित भण्डार गृह निर्माणका लागि आवश्यक कामको प्रक्रिया सुरु भएको हो । १० करोडको लागतमा निर्माण गरिने शित भण्डार गृहका लागि टेण्डर खोलिएको हो । निर्माणका लागि टेण्डर सम्झौता भएको डेढ वर्षभित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने लक्ष्य राखिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका ईन्जिनियर त्रिलोक जोशीले वताए । शित भण्डार गृह २ हजार मेट्रिक टन राख्न सकिने क्षमताको रहने छ । मंगलवार खोलिएको टेण्डरलाई प्रक्रियामा लगेर सम्झौता लगायतका काम गर्नका लागि दुई महिनाको समय लाग्ने भएपछि निर्माण सुरु हुन भने समय लाग्ने भएको छ । असोजको पहिलो सातादेखि निर्माणको काम सुरु गराउने लक्ष्य सहित तयारी गरिरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका ईन्जिनियर त्रिलोक जोशीले जानकारी दिए । कैलालीमा शित भण्डार गृह नभएका कारण कृषि उपजहरु भण्डार गर्नका लागि सहज हुनेछ । यहाँ उत्पादन हुने कृषि उपजहरुलाई भण्डार गरी वेमौसममा वजारमा ल्याउन सकिनेछ भने किसानहरु पनि लाभान्वित हुनेछन । जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले वताए ।