केरा खेतीमा जमेका विनोद:एक विगाहबाट सुरु गरेर ९० विगाह क्षेत्रफलमा विस्तार (भिडियो)
पौरखी हातहरुः श्रृंखला ०७
भनिन्छ, कुनै पनि कामप्रतीको लगाव, परिश्रम र धैर्यताले मानिसलाई एक दिन अवश्य पनि सफल बनाउछ। निरन्तरको परिश्रम र धैर्यताले नै सफलताको शिखर चुमेका उदाहरण धैरै छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्वर १ ब्लक नम्बर १४ का विनोद कुमार शाह पनि तीनैमध्येका एक हुन्। सुरुका दिनमा विनोदकुमार शाहमा एक समय शिक्षक बनेर कलिला नानीहरुको भविष्य उज्जवल बनाउने ठुलो अठोट थियो।
सोही अठोटलाई पूरा गर्न शाहले प्रवेशिका परिक्षाको सफलतापछि विज्ञान संकाय रोजे। २०५४ सालमा सिराहको मरवैत्ता बहुमुखी क्याम्पसबाट उनले विज्ञान संकायमा स्नातक तह उत्र्तिण गरे। त्यसपछि शिक्षाशास्त्र संकायबाट समेत स्नातक तह पास गरेका शाह, २०५५ सालमा टीकापुर २ स्थित राम माध्यमिक विद्यालयमा शिक्षण पेशामा लागे। मासिक ४२ सय रुपैया तलबमा शिक्षण सुरु गरेका शाहले ३ वर्ष सम्म मन नडग्मगाई काम गरे। तर पछि विस्तार शिक्षण पेशाप्रतीको रुची घट्न थाल्यो।
मासिक ४२ सय तलबले आफू र परिवारको दैनिक धान्न नसकिएपछि शाहले अर्को विकल्पका रुपमा केराखेतीलाई रोज्न पुगे। सोही अनुसार २०५८ सालमा डेढ बिघा जग्गा भाडामा लिएर केरा व्यवसायमा लागेका शाह अहिले एक सफल केरा व्यवसायी बनेका छन्। सुरुमा डेढ बिघाह जग्गा भाँडामा लिएर केराखेती सुरु गर्नुभएका शाहले विस्तारै केराखेती विस्तार गरे। २, ४ बिघा गर्दा गर्दै उनले अहिले ९० बिघा क्षेत्रफलमा केराखेती विस्तार गरेका छन् भने झण्डै डेढ सय जनालाई रोजगारी पनि दिएका छन्।
शाहले केराखेतीबाटै वार्षिक न्युनतम २५ देखी ५० लाख सम्म बचत गर्छन्। जग्गाको भाँडा, मजदुरको पारिश्रमीक र अन्य खर्च कटाएर बचत हुने रकमले छोराछोरी र घरपरिवारको खर्च चलाउने गर्दै आएका छन्। ४ छोराछोरी रहेका शाहका जेठो छोरा वगलादेशमा एमबिबिएस पढिरहनुभएको छ भने २ छोरी १० र एक छोरा कक्षा ८ मा पढ्छन्। स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै यसक्षेत्रबाट दैनिक सयौ युवा विदेशिरहेका बेला आफ्नै भूमीको माटोसँग खेल्न सके स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र आफू बन्न पाउदा शाह खुसि व्यक्त गर्छन्। केराखेतीलाई अझै व्यवसायीक बनाउदै कृषिमा पनि थुप्रै अवसर छन् भन्ने कुरालाई पुष्टि गर्ने शाहको ठुलो धोको छ।