भारतमा नष्ट पार्न लागिएका कुखुराको कैलालीमा निर्वाध तस्करी (भिडियो सहित)
अण्डा दिन थाकिसकेपछि भारतमा नष्ट गर्न लागिएका कुखुराको तस्करी गरी कैलालीको मासु वजार चलिरहेको छ । भारतमा अण्डा दिन थाकिसकेपछि नदी किनारमा नष्ट गर्नुपर्ने कुखुराहरुको नेपाली बजारमा तस्करी भईरहेको हो । यस्ले बर्डफ्लुको समस्या बढाउदै लैजाने भएपनि प्रतिबन्धित कुखुराको तस्करी नियन्त्रणमा नियमनकारी निकाय भने मौन देखिएको छ ।
खुला सिमानाको फाईदा उठाउदै प्रतिबन्धित कुखुराको तस्करी बढेपछि नेपाली कुखुरा व्यवसायी संकटमा परेका छन् । बर्डफ्लूको उच्च जोखिमका कारण भारतबाट कुखुरा र पंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेपनि भारतमै अवैध मानिएका कुखुराको नेपालमा तस्करी भने नरोकिएको हो । भारत सरकारले अण्डा दिन थाकिसकेपछि श्रीदेवी जातका कुखुरा नष्ट पार्न आफ्ना किसानलाई प्रति कुखुरा ८ रुपैया दिने गरेको छ ।
उक्त कुखुराको मासु विक्री गरिए मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै नष्ट पार्नु पर्ने प्रावधान नै बनाईएको छ । तर मानव स्वास्थ्यमा गम्भीर असर पार्ने त्यस्ता कुखुराको तस्करी गरेर कैलाली जिल्लाको मासु बजार चलिरहेको धनगढीका एक जना कुखुरा व्यवसायी किशोर हमालले बताए ।
कैलाली जिल्लामा फुलवारी क्षेत्रका विभिन्न नाकाका प्रयोग गर्दै श्रीदेवी जातका कुखुराको तस्करी भईरहेको वताईएको छ ।
ति नाका नजिकै चोरी तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि बसेको छ । उनिहरुले बेलाबखत त्यस्ता अवैध कुखुरा बरामद गरि नष्ट पनि गरेका हुन्छन् । तर तस्करीमा संग्लन हुनेलाई कारवाही गर्नुको साटो बचाउने परिपाटीका कारण प्रतिवन्धीत कुखुराको तस्करी रोकिनुको साटो भलन झन बढीरहेको अण्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले बताए ।
खुला सीमानाका कारण भारतबाट दैनिकजसो कुखुरा तस्करी हुने हुदा सिमावर्ती जिल्लाहरु बर्डफ्लुको उच्च जोखिममा रहेका छन् । नेपालमा स सानो पोल्ट्री फर्म स्थापना गरेका व्यवसायीहरु नै भारतबाट कुखुरा तस्करीमा संलग्न रहेको बताईन्छ । कैलालीमा भित्रीरहेका कुखुरा भारतमै अवैध मानिएकाले त्यस्ता कुखुराको मासुले मानव स्वास्थ्यमा पर्ने असर बारे कुनै पनि सरोकारवाला निकाय गम्भिर देखिएको छैन् ।
भारतबाट तस्करी गरिएका पक्षीजन्य वस्तुहरू सस्तोमा पाइने भएकाले स्थानीय किसानलाई मूल्यमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको छ । अण्डा तथा कुखुरा उत्पादक सघले पछिल्लो सयम भारतमा अवैध कुखुराको तस्करीले नेपाली व्यवसायीलाई संकटमा पारेको र बर्डफ्लु जस्ता रोगको जोखिम पनि बढाएको भन्दै अनुगमनलाई तिव्रता दिएको छ ।
तर सुरक्षा निकायले भने प्रतिवन्धित कुखुराको तस्करी नियन्त्रणका लागि चाँसो नदिएको व्यवसायीको आरोप छ । यता सिमा सुरक्षा कार्यालय कैलालीका शसस्त्र प्रहरी नायव उपरिक्षक खगेन्द्र चन्दले भने तस्करी नियन्त्रणमा आफुहरु लागेको बताए । मोहना नदीमा नष्ट पार्न ल्याईएका कुखुराको तस्करी गरेर नेपाली मासु बजार चलिरहेको छ तर नेपाली कुखुरा व्यवसायीले भने उचित मुल्य नपाएको भन्दै कुखुरा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था छ ।