राजश्व संकलनको दायरा बढाएसँगै राजश्व संकलनमा वृद्धि
गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयले संकलनको दायरा बढाएसँगै राजश्व संकलनमा वृद्धि हँुदै गएको छ। आर्थिक वर्ष २०७४÷७५ मा भन्सार कार्यालयले ३२ करोड ५४ लाख ६३ हजार राजश्व संकलन गरेको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत यज्ञराज जोशीले जानकारी दिए। राजश्व संकलनको वार्षिक लक्ष्य ३२ करोड ४७ लाख ७५ हजार तोकिएकामा लक्ष्य भन्दा ६ लाख ८८ हजार बढी राजश्व संकलन भएको छ।
“हरेक वर्ष वार्षिक राजश्व संकलन लक्ष्यको दायरा बढ्दै गएको छ,” उनले भने–“लक्ष्य अनुसारको राजश्व संकलन गरिरहेका छौँ।” महाकाली नदीमा चार लेनको पुल निर्माण भएर कञ्चनपुर व्यापारिक नाकाको रुपमा विकास भएसँगै राजश्व संकलन बढ्दै गएको छ।
चालू आव २०७५÷७६ का लागि वार्षिक राजश्व संकलनको लक्ष्य रु ४० करोड १२ लाख ८४ हजार तोकेको छ। आव २०७३÷७४ मा रु १७ करोड ३८ हजार राजश्व संकलनको लक्ष्य तोकिएको बेला २४ करोड ७७ लाख ४३ हजार संकलन भएको कार्यालयले जनाएको छ।
आधा दशकयता भन्सारमा गरिएको विभिन्न सुधारसँगै यहाँको राजश्व संकलनको वृद्धिदर पनि बढ्दै गएको हो। आव २०७२÷७३ मा १४ करोड ८७ लाख वार्षिक राजश्व संकलनको लक्ष्य थियो। सो आवमा २२ करोड ८६ लाख ४८ हजार राजश्व संकलन गरिएको तथ्यांकले देखाएको छ। आव २०७१÷७२ मा राजश्व संकलनका लागि १० करोड ३२ लाख ३५ हजार लक्ष्य रहेकामा कार्यालयले १३ करोड ५८ लाख २९ हजार संकलन गरेको थियो।