सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको समृद्धिसँग जोडिएका ६२ मध्ये १५ योजनाको मात्र अध्ययन सम्पन्न (भिडियो रिर्पोट सहित)

भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत बजेट पनि सेवासुविधा केन्द्रीत  

२०७५ साउन १२, ०४:०७

कर्मचारी र मन्त्रीको सेवा सुविधामा लाखौँ खर्च गरेको प्रदेश ७ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको समृद्धिसँग जोडिएका योजनाहरुको सम्भाव्यता अध्ययनमा उल्लेख काम गर्न सकेको छैन् । गत वर्ष प्रदेश ७ का ९ वटै जिल्लामा विभिन्न भौतिक पूर्वाधारका योजनाको सम्भाव्यता अध्ययनका लागि झन्डै पौने २ करोड बजेट विनियोजन गरेर काम सुरु गरेको मन्त्रालयले सन्तोषजनक काम गर्न नसकेको हो । विभिन्न संघ संस्थासँग सम्झौता गरिएका ६२ योजना मध्ये मन्त्रालयले गत आर्थिक वर्षमा १५ योजनाको सम्भाव्यता अध्ययनको काम सकेको जनाएको छ । प्रदेश सरकारले गत आर्थिक बर्षको अल्पकालीन बजेटमा सबैभन्दा बढि ४ करोड २ लाख पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ वटै जिल्लामा खानेपानी, सिचाई, तटबन्ध, सडक, हाईड्रो पावर लगायतका भौतिक पूर्वाधारका ६२ योजनाको सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणका लागि  पौने २ करोड विनीयोजन गरेको थियो ।

जसमा ८४ लाख ८३ हजार खर्च गरेर १५ योजनाको मात्र सम्भाव्यता अध्ययन सकिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता अमर बहादुर पालले बताए । पूर्व अध्ययन र तयारी विना मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि योजना छनौट गरेपछि केही योजनामा त काम नै अगाडी बढ्न सकेको छैन् । सम्भाव्यता अध्ययनका लागि छनौट भएका डोटीका २ र बझाङको एउटा गरी ३ वटा सिचाई योजना, र दुईवटा झोलुङ्गे पुलमा काम हुन नसकेको हो । मन्त्रालयका प्रवक्ता पालले ती योजनामा यसअघि नै सम्भाव्यता अध्ययन र सर्भे भइसकेकाले पाईएकाले काम अघि नबढेको जनाए । मन्त्रालयले अधिकांश योजनाको समयावधी नसकिएकाले सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणको काम भइरहेको जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईन्द्रदेव भट्टले दक्ष जनशक्ति र समय अभावका कारण ठुला योजनाको सम्भाव्यता अध्ययन र गुरुयोजना  बन्न नसकेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले योजनाको अनुुसन्धान तथा परामर्श शिर्षकमा कम प्रगति गरेपनि कर्मचारी र मन्त्रीको सेवासुविधा केन्द्रित गरी विनीयोजित बजेटमा भने राम्रो प्रगति गरेको छ । मन्त्रालयले सवारी साधन शिर्षकमा विनियोजित १० लाखमा ९ लाख ८५ हजार, मेसिनरी तथा औजार शिर्षकको २० लाख मध्ये १९ लाख ८८ हजार, निर्मित भवनको संरचना सुधार शिर्षकको १ करोडमध्ये ५६ लाख बजेट खर्च गरेको छ ।  
     
           
 

कमेन्ट लोड गर्नुस